शुभकालिकामा निःशुल्क स्वास्थ्य विमा गरिने

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा रहेका अतिविपन्न घरपरिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिने भएको छ । गाउँपालिकाले सदमुकाम मान्ममा दर्ता सहयोगीहरुका लागि अभिमूखिकरण राख्दै जानकारी गराएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९–०८० को बजेटमा स्वास्थ्य विमाका लागि रु ४० लाख रकम विनियोजन गरेको थियो । उक्त रकम विनियोजनसँगै स्वास्थ्य विमालाई प्रभावकारी बनाउन दर्ता सहयोगीहरुका लागि अभिमूखिकरण गरिएको हो ।

गाउँपािलकामा हालसम्म पुरुष २ हजार ६ सय ८८ र महिला २ हजार ५ सय ४९ गरी जम्मा ५ हजार २ सय ३७ जनाले सेवा लिइरहरेको स्वास्थ्य विमा बोर्ड शाखा कालीकोटका प्रमुख प्रकाशजंग शाहीले जानकारी गराए । उनका अनुसार जिल्लाभरी महिला र पुरुष गरी ४५ हजार,४ सय,५७ जनाले स्वास्थ्य विमा गराएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले आफू निर्वाचिन भएपछि शपथ लिँदाको दिनमा स्वास्थ्य विमा निःशुल्क गर्ने प्रतिबद्धता गरेकाले सोहीअनुसार बजेट विनियोजन गरी निःशुल्क स्वास्थ्य विमाको अभियान अगाडि बढाएको बताइन् ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य विमाको आधारमा नागरिकलाई सहजता बनाउनु रहेको उनको दाबी छ । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यले कर्णाली जस्तो बिकट ठाउँमा स्वास्थ विमा अतिआवश्यक रहेकाले आफ्नो पालिकाले यो पहिलो कार्यकालमा निःशुल्क स्वास्थ्य विमाको शुभारम्भ गरेको बताए ।

स्वास्थ्य सेवा क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनिकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप सेवा पुग्ने उद्देश्यले कार्यक्रम लागू गरेको उनले बताए । उनले स्वास्थ्य सेवा उपयोग गर्दा आउन सक्ने आर्थिक अवरोध सेवामा मूलतः गरिब तथा सिमान्तकृत जनता र लक्षित वर्गको पहुँच र समता अभिवृद्वि गर्ने औचित्य यस कार्यक्रमको रहेको बताए ।

शुभकालिका गाउँपालिका–२ का वडाध्यक्ष मनबहादुर शाही राजेशले स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई उपलब्धिमूलक बनाउन एवं स्वास्थ्य सेवा प्रवाहमा दक्षता, प्रभावकारिता र जवाफदेही तथा गुणस्तर बढाउन अभिप्रेरित गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले दर्ता सहयोगीहरुलाई आफ्नो प्राय नभनी सवै गरिब तथा दिनदुखिहरुको स्वास्थ्य विमा गर्न जोड दिए । उनले बजेट अभाव भए आगामी वर्षको बजेटबाट सबै नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा गर्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया