बालविवाह न्यूनिकरणमा राजनैतिकको भूमिका विषयक रेडियो बहस

कालिकोट । बालविवाह न्यूनिकरणमा राजनैतिक दलको भूमिका विषयक रेडियो बहस कार्यक्रम भएको छ । बालविवाह विरुद्धको साझा अभियानको आर्थिक सहयोग तथा सामुदायिक रेडियो चंखेली एफएम को समन्वयमा रेडियो बहस गरिएको थियो ।

उक्त बहसमा नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत समाजवादी, माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, जसपा पार्टीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी पार्टीका प्रमुख तथा प्रतिनिधिहरुले बालविवाह न्यूनिकरणका क्षेत्रमा पार्टीले आ–आफ्नो क्षेत्रबाट विभिन्न क्रियाकलाप गर्दै आएको बताएका छन् ।

सहभागी अन्य सरोकारवालाहरुले पार्टीले कुर्सी र पदका लागि मात्र काम गर्ने र बालविवाह, बालबालिकाको क्षेत्रमा खासै ध्यान नदिएको आरोप लगाएका छन् । कार्यक्रममा मानव अधिकार रक्षक डिल्लीप्रसाद चौलागाँईले पार्टीका नेता तथा कार्यकताहरुले पार्टीको सिद्धान्त भुलेर पदलोभी भएको आरोप लगाए ।

यस्तै इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले निर्मला पन्तलगायत अन्य घटनाहरुमा सरकारी तथा गैरसरकारी संस्था मिडियाहरु लागिपरे पनि राजनैतिक दलको दभाबमा अहिलेसम्म न्याय नपाएको बताए ।

बालविवाहविरुद्ध साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारीले कालीकोटकै विषयमा बोल्दै निरु बिकको हत्यारा पत्ता लगाउन राजनैतिक दलको भूमिका कम भएको बताए । अधिकारीले तिलागुफा राँचुली बम विस्पोटको घटनामा समेत राजनैतिक दलको सक्रिय भूमिका नरहेको आरोप लगाए ।

रेडियो बहस कार्यक्रममा उपस्थित रानीतिकदलहरु तथा अन्य सरोकारवाला निकायहरुले बालविवाह साझा मुद्दा रहेकाले सबैले आ–आफ्नो क्षेत्रबाट न्युनिकरणका लागि पहल चाल्नुपर्ने प्रतिवद्धता जनाएका छन् ।

कानून व्यवसायी तथा नेपाल बार एशोसिएशन कालीकोटका अम्मलराज शाहीले बालबालिकाको मुद्दाहरु होस् वा अन्य मुद्दामासमेत राजनीतिक दलको दबाब हुने भएकाले निष्पक्षरुपमा सबैले बालविवाह न्यूनिकरण गर्नतिर लाग्नुपर्ने बताए ।

शाहीले हालसम्म आफूले बालविवाहका मुद्दामा सक्रिय भएर लागेकोसमेत जिकिर गरे । कार्यक्रमको सहजीकरण सौर्यकर्मी तथा रेडियो चंखेलीका कार्यक्रम संयोजक हस्त चौलागाँईले गरेका थिए ।

प्रतिक्रिया