बालविवाहबिरुद्ध सचेतना फैलाउदै दुई दिदी बहिनी

कालिकोट । सान्नीत्रिवेणी गाउँपालिका ९ की भावना केसी र सपना केसी दुई बहिनी हुन । १९ वर्षीया जेठी दिदी भावना र १७ वर्षीया सपना केसी बालविवाह विरुद्धको अभियानमा लागेका छन् । स्थानीय स्तरमा रहेको डाँफे माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत सपना केसी र १२ कक्षा पास गरेकी भावना केसी ६ कक्षा अध्ययन गर्दाको उमेरदेखि वालविवाह विरुद्धको अभियानमा संलग्न थिए । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले गाउँमा बालविवाह लगायत समाजमा रहेका विभिन्न कुरीती कुसंस्कार विरुद्धमा काम गर्दा भावना र सपना केसीले केही कुराहरुको ज्ञान भएको बताएका छन् । बालविवाह विरुद्धको अभियानमा लाग्दा केहीले गालि गरेपनि अधिकांस अभिभावकहरुले सहयोग गरेको भावना केसीले बताइन् ।

उनले भनिन्, ‘मेरा टुवाटईले विहा अर्या, तमिकन क्या अच्चम र उलावात भयो, रिस मान्या आपु विहा अरिकन खादिनै, भौति जान्या भयाकी छ । पुडी जा हाम्मा घरको कुडा हो तमिहरु काँकी राजाकी रौतेली हौर ? भनेर सुनाउँदा पनि अभयिान छाडेनौं ।’

‘मेरो छोराले वा छोरीले मन परायो ल्यायो वा गयो अरुको घर भित्रको कुरामा तिमिहरु किन जान्ने हुने ? हाम्रो घरको कुरामा तिमीहरुलाई किन चासो ?’ भनेर झगडा गर्न आउँदा असहज महसुश हुने गरेको अभियन्ता किशोर किशोरीको भनाइ छ ।

सान्नीत्रिवेणी गाउँपालिका ८ की कल्पना केसी पनि बालविवाह बिरुद्धकी अभियन्ता हुन । स्थानीय पन्चदेवल बहुमुखी क्याम्पसमा भर्ना भएकी सानै उमेरबाट बालविवाह बिरुद्धको अभियन्ताको रुपमा आफ्नो गाउँटोल छिमेकमा चिनाउन सफल भएकी छन् ।
कल्पना बालविवाहबिरुद्धको अभियन्ता हुँदै बालविवाह बिरुद्ध खरो उत्रिदै आएकी छन् । प्लान ईन्टरनेशन नेपालको सहयोगमा नेतृत्व र निर्णय कार्यक्रम अन्र्तगत रहेको सिओसीमा सहभागी भएपछि उनी आफूहरुमा धेरै परिवर्तन आएको बताउछिन् ।

सिओसीमा सहभागी हुन् थालेपछि भने बालविवाह सामाजिक अपराध हो भन्ने थाहापाएको बताउने उनी महिनावारीका विषयमा खुलेर बोल्न र आफुलाई परेको समस्या बारे कुरा राख्न सक्ने भएकी छन् भने, महिनावारी त झन् प्रकृतिले महिला तथा किशोरीहरुलाई दिएको सुन्दर उपहार जस्तो लाग्न थालेको छ उनलाई । उनी भन्छिन–‘महिनावारी हुँदा पहिला अरुलाई थाहा नहोस भन्ने लाग्थ्यो तर, अहिले भने यो समय संवेदनशिल हो भन्ने बुझेकी छु । त्यसैले यसको बारेमा आफ्नो उमेर समुहका अरुलाई पनि जानकारी गराउने गरेकी छु ।’

भावना र सपना केसी गाउमा पहिला–पहिला बालविवाह हुने गरेको थियो पछि सिओसीमा सहभागि भएपछि उनीहरुले फैलाएको सचेतनाकै कारण समाजमा थोरैमात्रामा भए पनि परिवर्तन भएको उनीहरुको भनाई छ । ‘भागेर विवाह गरि जाने प्रचलन यहाँ अधिक थियो, नेतृत्व र निर्णण कार्यक्रम लागु भएपछि अलिकति भएपनि कम भएको छ,’–उनीहरु भन्छन् ‘सानो उमेरमा विवाह गरेपछि उत्पन्न हुनसक्ने शारिरीक समस्याको बारेमा जानकारी भएपछि बाल विवाह कम हुन थालेको हो ।’

सिओसीमा आवद्ध भएसंगै गाउँघरमा थुप्रै बालविवाह रोक्न आफूहरु सफल भएको स्मरण गर्दै उनीहरु भने, ‘ हामीले थुप्रै बालविवाह रोखेका छौं । केही ठाँउमा त हाम्रो छोराले मन पराएर ल्यायो तिमिहरुलाई किन के को चासो ? भनेर अभिभावक नै झगडा गर्न उत्रिनु भयो तर, पनि सम्झाई बुझाई रोक्न सफल भयौं ।’

सिओसीमा आवद्ध किशोरकिशोरीहरुले गाउमा आफूलाई अभियन्ताको रुपमा परिचित बनाउन सफल भएका छन् । किशोर–किशोरीलाई बढ्दो उमेरका कारण हुने शाररीक तथा मानसिक परिवर्तनहरुको बारेमा जानकारी गराउदै र आफ्नो भविष्य आँफै बनाउने उपाय पनि सिओसीका सहभागिहरुले सिकाउने गरेका छन् ।

एक किशोरले उमेर नपुगी विवाह गर्दा आफु माथि आउने जिम्मेवारी निर्वाह गर्न सक्दैन । त्यसैगरी एक किशोरीको झनै शाररीक अवस्था परिपक्व हुँदैन । सानो उमेरमा विवाह गर्दा ठूलो दुर्घटना हुने संभावना अधिक हुने भएकोले बालविबाह गर्नु सामाजिक अपराध हो भन्ने बुझ्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

भैपरी आउने घटनाहरु अध्ययन गर्नुको साथै समाधानको लागि पहल गर्दा सबै भन्दा बढी चुनौती बालविवाहको मुख्य कारण अशिक्षा, सामाजिक र सांस्कृतिक चलन, मान्यतासँगैै विपन्नताको कारण हुने गरेको सिओसीका सदस्यहरुको भनाई छ । छोरी चेलीको जात भोली पनि विवाह गरेर पठाउने हो त्यसैले आज विहे गरौं भन्ने समाज पनि बालविवाह वारे केही बुझ्ने भएको छ ।

आफ्नै गाउँको र विद्यालयमा अध्ययन गर्ने २ जनाको भागेर विवाह हुनबाट रोक्न सफल भएको भावना केसीले सुनाईन् । छाउपढी प्रथा र बालबिबाह जस्ता कुराहरु अन्त्य गर्नको लागि आफुहरु लागि परेको उनिहरु बताउछन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी एवं प्रहरी निरिक्षक सुबराज बमका अनुसार आर्थिक वर्ष २०७७।०७८ मा २ वटा बालविवाहका मुद्धा दर्ताको बताएका छन् । यस्तै आर्थिक वर्ष २०७९।०८० को हाल सम्म ३ वटा बालविवाह विरुद्धको मुद्धा दर्ता भएको बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया