कालिकोट । सुख्खा पहिरोका कारण गाउँनै उच्च जोखिममा परेको छ । जिल्लाको पचालझरना गाउँपालिका–८ को मय गाउँ नै पहिरोको उच्च जोखिममा परेको हो । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिरोको जोखिममा परेको छ ।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिरोको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्कराज सेजुवालले बताए ।
मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए ।
गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण गाउँमा त्रास फैलिएको स्थानीय रामबहादुर विकले जानकारी दिए । ‘किन जमिन भासिँदै गएको छ, त्यसको कुनै पत्तो पाएका छैनौँ’, उनले भने, ‘अहिले पहिरो आउने हो कि भनेर त्रास बढेको छ ।
तत्काल पहिरोको जोखिममा रहेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए ।
कालिकाेट
प्रतिक्रिया