पर्सा ४ मा गठबन्धनका उम्मेदवार रिजालको घरदैलो

पर्सा । पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले छिपहरमाइ गाँउपालिका– १ भलुवाही र वडा नम्बर ४ तुलसीबर्वामा बुधबार चुनावी घरदैलो गरेका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका पनि साझा उम्मेदवार रहेका रिजालले घरदैलो कार्यक्रममा मतदातालाई भेट्दै मधेस र देशको समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

मधेस विरोधी एमाले र अहिले स्वार्थका लागि उसँग अपवित्र गठबन्धन गरेको जसपा दुवैको चरित्र उदाङ्गीएकाले जनता उनिहरुबाट सचेत रहनुपर्ने रिजालले बताए ।

पर्सा ४ मा अहिले एमालेबाट उम्मेदवार बनेका व्यक्तिको पृष्ठभूमीबारे सबै जानकार नै रहेको भन्दै रिजालले मतदातालाई आग्रह गर्दै भने, ‘सही नेता चुन्नुहोला, दलबदल र अपराधमा मुछिएकाहरुबाट सतर्क रहनुहोला ।’

दुइ–दुइ पटक संविधान नै मिचेर संसद विघटन गर्ने एमालेले जिते लोकतन्त्र नै फेरि धरापमा पर्ने खतरा रहेको भन्दै रिजालले कांग्रेसले जिते लोकतन्त्र र संविधानमाथि कुनै पनि शक्तिले धावा बोल्न नसक्ने बताए ।

घरदैलो कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँद ताराका साथै कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

प्रतिक्रिया