तिहारको हार्दिक शुभकामना

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि आरम्भ भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया तिथिसम्मका पाँच दिनलाई तिहार पर्वका रूपमा भव्यताका साथ मनाउने प्रचलन नेपाली समाजमा छ । विश्वभरी जहाँजहाँ नेपाली छन् त्यहाँत्यहाँ यी पाँच दिनलाई तिहार पर्वका रूपमा भव्यताका साथ मनाउँछन् । तिहारका अवसरमा चराचुरुंगी, कुकुर, गाई, गोरुजस्ता घरपालुवा जनावरको समेत पूजा गर्ने प्रचलन छ । साथै दिदीबहिनीले दाजुभाइको पूजा गर्ने प्रचलन छ । तिहारमा पा“च वटै दिनको आआफ्नो महत्व र विशेषता छ । अन्य देशमा पनि हिन्दूहरूले तिहार पर्वलाई दीपावली पर्वका रूपमा मनाउने गर्छन् । तर नेपालीहरूले जस्तो भव्यताका साथ पाँचै दिन अरू देशका हिन्दूहरूले तिहार मनाउँदैनन् ।

तिहारको पहिलो दिन अर्थात त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक ऋषि धनवन्तरी जयन्तीसमेत पर्छ । धनवन्तरी नेपालमै जन्मेको विश्वास छ । छिमेकी मुलुक भारतमा तिहारलाई व्यापारीकरण गरिएको छ । धनवन्तरी ऋषिको नाम मेटाएर धनतरेस भन्दै आफ्ना सामान दोब्बर तेब्बर मूल्यमा बिकाउने भारतीय व्यापारीहरूको बिगबिगी नेपालमा पनि सुरु भएको छ । हुन त जनैपूर्णिमालाई ब्राह्मणहरूको चाड, दसैँलाई क्षेत्रीयहरूको चाड, तिहारलाई वैश्यहरूको चाड र फागुुपूर्णिमालाई शुद्रहरूको चाड भनेर शास्त्रमै लेखिएको छ । त्यसैले व्यापारीहरूले तिहार पर्वलाई धन कमाउने अवसरको रूपमा लिनुलाई अन्यथा मान्नु पर्दैन ।

नेपालको आफ्नै मौलिक संवतका रूपमा रहेको नेपाल संवतको नयाँ वर्ष पनि तिहारे औँसीबाटै सुरु हुन्छ । तिहारे औँशीलाई नेपालका रैथाने व्यापारीहरूले आर्थिक वर्षको थालनीका रूपमा पनि मनाउने गरेका छन् । तिहारको सन्दर्भमा चर्चा गर्दै गर्दा यसको मौलिकता जोगाउने चुनौतीलाई नजरअन्दाज गर्न मिल्दैन । तिहारको सट्टा दीपावली भन्ने भारतीय प्रचलन नेपालमा प्रवेश गरिसकेको छ । तिहारका पाँच वटा पर्वमध्ये दीपावली भनेको लक्ष्मीपूजा गर्दा अपनाइने विधिमध्ये एउटा विधि मात्रै हो भन्ने यथार्थता पनि नेपालीले बिर्संदै जान थालेका छन् । त्यसैले नेपालमा पनि तिहार शब्द ओझेलमा पर्दै दीपावली शब्द प्रयोग हुन थालेको छ ।

नेपाली मौलिकता नष्ट हुने लक्षण हो यो । तिहार हामी नेपालीको मौलिक पर्व हो, तर तिहार मनाउने मौलिक शैलीमा परिवर्तन हुँदै जाँदा नेपालको ठूलो धनराशि बिदेसिन थालेको छ । दसैँमा त कमसेकम आफ्नै देशका ग्रामीण क्षेत्रमा पालिएका खसीबोका खपत हुन्छन्, तर तिहारमा खपत हुने प्रायः सबै बस्तुहरू विदेशबाट आयात हुन थालेका छन् । यतिसम्म कि तिहारको मौलिक परिकार सेलरोटीको ठाउँ भारतीय मिठाई तथा अन्य मसलाहरूले लिने खतरा बढेको छ । उदाहरणका लागि भाइ मसलाभन्दा भारतबाट मिठाइको प्याकेट आउने गरेको छ ।

तिहारमा भाइ मसलाका लागि मात्रै कति रकम बाहिरिन थालेको होला ? यसको आँकडा निकै कहालीलाग्दो छ । त्यति मात्रै होइन नेपालमा यही मौसममा छ्यापछ्याप्ती फूल्ने सयपत्री र मखमली प्रयोगमा नआई ओइलाएर खेर जाने गरेको देखिएको छ । तर सयपत्री तथा मखमली फूल आयतका लागि मात्रै तिहारका बेला वार्षिक ५० करोड रुपैयाँभन्दा बढी बिदेसिने गरेको छ । सरकारले उचित व्यवस्थापन नगर्दा यस्तो अवस्था उत्पन्न भएको हो ।

गाउँमा फूल खेर जाने तर सहरमा भारतबाट आउने गरेको छ । काठमाडौंको बजारमा मात्रै १८ देखि २० लाख माला क्रय विक्रय हुन्छ । एउटा मालाको ६० देखि ७० रुपैंया तिर्छन् उपभोक्ताहरूले । यी माला सबै नेपालकै किसानहरूबाट ल्याउने व्यवस्था मिलाउन सक्ने हो भने सहरको ठूलो रकम सिधै गाउँका किसानसम्म पुग्ने थियो, तर बिदेसिएको छ । तिहारमा सबैभन्दा बढी खपत हुने भनेको चिनी हो तर तिहार र छठपर्वमा चिनीको जहिले पनि कृत्रिम अभाव र मूल्य वृद्धि हुने गरेको छ । सरकारी कर्मचारी तथा काला बजारियाबीच मिलेमतो हुने गरेको छ ।

दीपावलीका नाममा विदेशबाट आयातित झिलीमिलि बत्तीको प्रयोग हुन थालेको छ । दिदीबहिनीले दाजुभाइलाई भड्किला उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीलाई नगद दक्षिणाको सट्टा विदेशबाट आयातित भड्किला जिन्सी उपहार दिने प्रचलन बढ्न थालेको छ । जसका कारण तिहारको मौलिकता त हराउँदै गएको छ नै, सँगसँगै देश कंगाल बन्दै गएको छ । हाम्रा चाडपर्वहरू विदेशी बस्तु खपत हुने माध्यम बन्न थाल्नु भनेको ठूलो चिन्ताको विषय हो । तसर्थ तिहार पर्वको मौलिकता जोगाऔँ । तिहारको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया