कांग्रेसमा विद्रोहको वातावरण

एक वर्षअघि जुन रोगका कारण नेकपा एमाले विभाजित भएको थियो, यतिबेला नेपाली कांग्रेस त्यही रोगले आक्रान्त बनेको छ । हाअधिवेशनमा आफ्नालाई साथ नदिनेलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सबै अवसर तथा भूमिकाबाट वञ्चित गरेका कारण नेकपा एमाले विभाजित भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गत पुसमा सम्पन्न १४औँ महाधिवेशनको बेला आफूलाई साथ नदिनेहरूलाई वञ्चित गर्दै समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दर्ता गरिएको समानुपातिक उम्मेद्वारको बन्दसूचीमा डा.शेखर कोइराला पक्ष करिबकरिब ‘क्लिन स्विप’ जस्तै छ ।

१ सय १० जनाको यो सूचीमा देउवालाई मत दिनेहरू ९० प्रतिशत र डा.शेखर कोइरालाई मत दिनेहरू १० प्रतिशत छन् । तर १ सय १० जनाले नै अवसर पाउँदैनन् । कांग्रेसले गत आमनिर्वाचनको जति नै मत प्राप्त ग¥यो भने १ सय १० मध्ये ४० जनाले मात्रै अवसर पाउँछन् । यसरी अवसर दिँदा जुन क्लस्टरको सूचीमा जसको नाम माथि छ उसैले अवसर पाउँछन् । अहिले पठाइएको सूचीको नाम हेर्दा नेपाली कांग्रेसले समानुपातिकतर्फ ४० जना पायो भने देउवा पक्षका ३७ जना र डा. कोइराला पक्षका तीन जना मात्रै पर्नेछन् । गत महाधिवेशनमा करिब ५८ प्रतिशत मत पाएर देउवा सभापति पदमा निर्वाचित भएका थिए भने पराजित डा.कोइरालाले ४२ प्रतिशत मत पाएका थिए ।

पार्टीको तर्फबाट भूमिका तथा अवसर प्रदान गर्दा यही मतलाई आधार बनाउने परम्परा नेपाली कांग्रेसमा संस्थागत भइसकेको थियो । तर, गत महाअधिवेशनपछि भने डा.कोइरालाले ६० प्रतिशत र ४० प्रतिशतको भागबण्डाबाट पार्टीलाई मुक्त बनाउने घोषणा गरेका थिए । तर डा. कोइरालाको यो घोषणा आफूलाई मत दिने जति सबैलाई पार्टीभित्र अवसर र भूमिकाका लागि वञ्चित गराउने अभिप्रायका साथ आएको होइन भन्ने हेक्का सभापति शेरबहादुर देउवाले राख्न सकेनन् ।
समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो पक्षलाई निस्तेज गरिएको थाहा पाएपछि शनिबार डा.कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूले राजधानी काठमाडौंमा भेला आयोजना गरे । उक्त भेलाले यथास्थिति कायमै रहे विद्रोहमा उत्रने निर्णय गरेको छ ।

प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विद्रोही उम्मेद्वार खडा गर्ने र समानुपातिकतर्फको मत बहिष्कार गर्ने चेतावनी उक्त भेलाले दिएको छ । पार्टी भित्रको आन्तरिक लोकतन्त्र उपयोग गरे वापत अवसर र भूमिकाबाट जब वञ्चित गरिन्छ, त्यतिबेला संगठित विद्रोह हुनुलाई आश्चर्य मानिँदैन । ०५१ सालको मध्यावधि निर्वाचनका बेला पनि कांग्रेसमा संगठित विद्रोह भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समर्थक उम्मेद्वारहरू जहाँजहाँ खडा भएका थिए, त्यहाँत्यहाँ गणेशमान सिंहले विद्रोही उम्मेद्वार उठाएका थिए । जसका कारण नेपाली कांग्रेसले करारी हार बेहोरेको थियो ।

समानुपातिकतर्फको बन्दसूची यथावत राख्यो भने नेपाली कांग्रेसमा यसपटक पनि संगठित विद्रोह हुने संभावना देखिएको छ । किनभने प्रत्यक्षतर्फ अवसर दिएर इतर पक्षलाई चित्त बुझाउन सक्ने अवस्थामा कांग्रेस सभापति देउवा छैनन् । अरू पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने भएकोले प्रत्यक्षतर्फका १ सय ६५ मध्ये नेपाली कांग्रेसले ८५ देखि ९० सिटमा मात्रै चित्त बुझाउनुपर्नेछ । यी सिटमा इतर पक्षकालाई २०÷२५ भन्दा बढी दिन सक्ने अवस्थामा कांग्रेस सभापति देउवा छैनन् ।

गत आमनिर्वाचनमा माओवादीसँग चुनावी तालमेल गर्ने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि इतर पक्षलाई यसरी नै भित्तामा पु¥याएका थिए । त्यतिबेला इतर पक्ष चुपचाप बस्यो । यही चुपचापलाई कमजोरी ठान्दै अध्यक्ष ओलीले झन्झन् पेल्दै लगे । जसका कारण पार्टी विभाजन गर्न माधवकुमार नेपाल समूह बाध्य भयो । चुनावपछि पार्टी विभाजन गर्नुभन्दा चुनावअघि नै किन सबक नसिकाउने ? भन्दै नेपाली कांग्रेसका युवा नेताहरू यतिबेला विद्रोहको मनस्थितिमा देखिएका छन् ।

प्रतिक्रिया