धोबिनीमा ३३ करोड ७३ लाख ५५ हजार बजेट प्रस्तुत

पर्सा । पर्साको धोबिनी गाउँपालिकाको अगामी आर्थिक वर्ष २०७९–०८० नीति तथा कार्यक्रम बजेट प्रस्तुतीसहितको छैठोँ गाउँसभा सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रमको प्रस्तुती कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष मदन चौहानले गरेका थिए ।

उद्घाटन गर्दै अध्यक्ष चौहानले आफूहरु विकासको पार्टी भएको र जनताहरुसँग गरेको प्रतिबद्धता अब एक जुट भएर विकासको काममा अगाडि बढाउनमा जोड दिने बताए ।कार्यक्रममा जनताहरुको आकांक्षा अनुसारको सबै कुरा समेटिएको बताइएको छ ।

इमानदारीपुर्वक कार्यान्वयन गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत उनले गरे । कार्यक्रममा पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइलगायत पर्यटन र भौतिक पूर्वाधार विकास रहेको छ ।

गाउँपालिकाको विकास र सर्वसाधारणलाई दुःख दिने र अटेर गर्ने कर्मचारीहरुलाई कारवाही समेत गर्ने अध्यक्ष चौहानले बताए । आगामी दिनमा जनसमुदाय र राजनीतिकर्मीहरुसँग सल्लाह र सुझाव लिएर अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया