माओवादी बैठक पदाधिकारी चयनमा अड्क्यो, अर्को बैठक शनिबार

काठमाडौ। चुनावको मुखमा नेकपा माओवादी केन्द्र आफैभित्र अन्यौल भएको छ । बिशेषगरी पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारीका बिषयमा निर्णय दिन सक्दा यस्तो अन्योल बढेको बताइएको छ । सो पार्टीको केन्द्रीय समिति, स्थायी समितिले पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्षलाई दिएका थिए । जिम्मा दिएको छ महिना बितिसक्दा पनि उनले यस्तो निष्कर्ष निकाल्न सकेका छैनन् ।

पदाधिकारी टुंगो लगाउन भन्दै सो पार्टीले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । यो बैठक एकसता देखि जारी छ।
शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ।

शुक्रबारको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए । उनले शनिबारको बैठकले पदाधिकारी चयन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया