जिम्मेवार र गम्भीर बन्नु पर्दैन ?

सांसदको व्यवहारले सभामुख आक्रोशित

काठमाडौं । संसद्को बैठकमा नियमित रूपमा सांसदहरूको उपस्थिति न्यून भएपछि सभामुख अग्निप्रसाद सापकोटाले असन्तुष्टि जनाएका छन् । उनले सांसदहरूलाई आफ्नो भूमिकाप्रति जिम्मेवार र गम्भीर बन्न आग्रह पनि गरेका छन् ।

सभामुख सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या नै पुग्न छाडेको भन्दै असन्तुष्टि जनाएका हुन् । संघीय संसद् सचिवालयमा सोमबार आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानवअधिकार समिति ः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तुष्ट व्यक्त गरे ।

पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदहरू बाहिर जाने थालेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छाडेको छ । आइतबार मात्रै प्रतिनिधिसभाको बैठकमा विधेयक पास गर्न सांसदको गणपूरक संख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको थियो ।

कार्यक्रममा सभामुख सापकोटाले संसद्हरूलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको बताउँदै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसद्लाई अफ्ठ्यारो भइरहेको धारणा व्यक्त गरे ।

उनले संसद्मा विधेयक पास गर्नका लागि धेरैपटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन पनि लामो समय कुर्नुपरेको छ गुनासो गरे । ‘सांसद र मन्त्रीहरू आफ्नो भूमिकाप्रति जिम्मेवार र गम्भीर बन्नु पर्दैन ?’ कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रश्न गरे ।

‘कानुन शक्तिशाली हुन, तर्कोचित, न्यायोचित र विवेकशील हुनुपर्छ अनि मात्र शक्तिशाली हुन्छ । हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नु पर्दैन, हामीभन्दा माथि पनि कानुन छ, हामीले संसद्लाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मिहिनेत र परिश्रम ग¥यौँ ? त्यो मूल्यांकनको कुरा छ’, उनले भने ।

जनप्रतिनिधिको व्यवहारलाई जनताले राम्ररी नियालिरहेको बताउँदै सभामुख सापकोटाले भने, ‘हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले विधेयक पास गर्नका लागि कतिपटक घण्टी बजाउनुपरेको छ र मन्त्रीहरूलाई बोलाउन हामीले कतिञ्जेल पर्खिनुपरेको छ भन्ने कुरा सबै जनतालाई थाहा छ । हामी जिम्मेवार र गम्भीर बन्नै पर्छ ।’

गणपूरक संख्या नपुगेकै कारण आइतबार प्रतिनिधिसभाको बैठक दुईपटक स्थगित भएको थियो । विधेयक पारित गर्न आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । पहिलो बैठक गणपूरक संख्या अपुग भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

त्यसपछि सुरु भएको दोस्रो बैठकमा पनि गणपूरक संख्या पुग्न सकेको थिएन । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्याको प्रश्न उठाएपछि सभामुख सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए ।

गणना हुँदा गणपूरक संख्या ६९ हुनुपर्नेमा उपस्थिति संख्या ६७ मात्रै भएपछि आइतबारको बैठकको कार्यसूची हटाएर अर्को बैठक साउन ३१ गते मंगलबारका लागि तोकिएको थियो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या अपुग भएको हो ।

त्यसअघि पनि प्रतिनिधिसभाको बैठकमा सांसदहरूको न्यून उपस्थितिका कारण गणपूरक संख्या नपुगेको थुप्रै उदाहरण छन् । विगतदेखि नै सांसदहरूमा बैठकमा उपस्थित नहुने तर, बैठक भत्ता भने बुझ्ने प्रवृत्ति झाँगिदै आएको छ ।

प्रतिक्रिया