वैकल्पिक मार्ग प्रयोग

रसुवा । पहिरोका कारण रसुवा खण्डको पासाङल्हामु मार्ग क्षति भएपछि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । माझगाउँ–बनुवा घुम्ती खण्डमा मंगलबार राती गएको पहिराले उक्त मार्ग क्षति बनाएपछि आमभञ्ज्याङ सिम्ले, तारूके हुँदै तल्लो धारापानी क्षेत्रबाट यातायात चालुु गराइएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बनुवा खण्डको पासाङल्हामु मार्ग क्षतिग्रस्त स्थान पुनःनिर्माण गराउन धेरै समय लाग्ने प्राविधिक सुझाव आएकाले तारूकेतर्फको ग्रामीण सडक प्रयोग गराइएको हो ।

आम भञ्ज्याङदेखि पालेको वन, सिम्ले तारूके हुँदै धारापानी पुगेर पुनः पासाङल्हामु मार्गमा जोडिने सो ग्रामीण सडक साँघुरो भएकाले जीप, कार, मोटरसाइकलजस्ता स–साना सवारीसाधन मात्र गुडाउन सवारी चालकलाई अनुरोध गरिएको छ । गोसाइँकुण्डका यात्रुलाईसमेत सोही ग्रामीण सडकबाट ओहोरदोहोर गराइ धार्मिक यात्रा सफल गराइएको बताइएको छ ।

बोगटीटार नजिक पालेको वन सालघारी मोडबाट पासाङल्हामु मार्ग छोडी पूर्वतर्फको सिम्ले–भोर्ले सडकलाई पच्छ्याई सिम्ले गाउँ, डौडरेखोला, साँधिखोला, थुम्को, बेलचौर तारूके, कदमघारीहुँदै पुनः पासाङल्हामु मार्गमा जोडिने बताइएको छ । पासाङल्हामु मार्गको बनुवा खण्डमा पहिराले सडक क्षति बनाएपछि चीनबाट आयात भएका मालसामानको ढुवानी रोकिएका छन् ।

चीनसँगको व्यापार व्यवसाय अभिवृद्वि गर्ने उत्तरी रसुवागढी नाकाबाट हुने कारोबारमा सहजताको लागि तत्काल सडक मार्ग सञ्चालन गराउन प्रजिअ जैसीले सडक डिभिजन कार्यालयका प्रविधिकलाई आग्रह गरिसकेका छन् ।
डाइभर्सन गर्ने स्थान नभएका कारण सो पहिरो गएको स्थानमा ग्याबिन पर्खाल निर्माण गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ ।

प्रतिक्रिया