काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले संसदमा पेश गरिएको निजामती सेवा विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन् । त्यसमा छलछाम, ढाँट, कीर्ते र स्वार्थपूर्ति प्रयास गरिएको भन्दै मुलुककै नैतिक धरातल हल्लिएको उनले टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले लेखेका छन्, ‘संसदमा सांसदलाई समेत ढाँट्ने, छल्ने र कीर्ते गर्ने गरेपछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको हो ?’ भन्दै आक्रोश पोखेका छन् ।
उनले यो घटनालाई ‘अक्षम्य अपराध’ को संज्ञा दिँदै, इतिहासमै उदाहरण बन्ने गरी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनका अनुसार यो विधेयकसँग जोडिएको प्रक्रिया अपारदर्शी र षड्यन्त्रपूर्ण देखिन्छ, जसले केवल सांसदहरूलाई मात्रै होइन, समग्र लोकतान्त्रिक प्रक्रियालाई नै अपमानित बनाएको छ ।
भण्डारीले लेखेका छन्, ‘दायित्वमा रहेका सम्बन्धित पक्ष पनि परीक्षणको कसीमा उभिनु पर्छ ।’ संसद र सरकारको उच्च तहमा रहेका व्यक्तिहरूले विधेयकमार्फत गरिने निर्णयलाई चोखो नियतले होइन, नीजि स्वार्थ र पदलोलुपताबाट प्रेरित भएर अघि बढाएको उनको आरोप छ । उनले थप लेखेका छन्, ‘के के देख्नु, सुन्नु र भोग्नु पर्ने हो? यो भन्दा ठूलो लज्जा पनि केही हुँदैन !’ भन्दै लोकतन्त्रप्रति निष्ठावान व्यक्ति र जनतामाझ गहिरो निराशा उत्पन्न भएको संकेत दिएका छन् ।
प्रतिक्रिया