पशुचौपाया व्यवस्थापन गर्न चुनौती

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको १० वटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशुचौपाया प्रायः सडकमै देखिन्छन् ।

छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राती खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नाले समेत समस्या भोग्नुपरेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् । सडकमा हुने अधिकांश सडक दुर्घटना छाडा चौपायाकै कारण हुने गरेको जिल्ला ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञनेन्द्र शर्माले बताए । पशु चौपाया सडकमै बस्ने भएकोले रातको समयमा बढी दुर्घटना हुने गरेकाले दिगो व्यवस्थान गर्न उनले आग्रह गरे । किसानले आफ्नो खेतबारी जोगाउन अनेक उपाय अपनाए पनि छाडा चौपायाले खेतमा पस्ने भएकाले बाली जोगाउनै मुस्किल हुने गरेको शिवराज नगरपालिका–३ का सलिम खाँनले बताए ।

स्थानीय तहको निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको मुद्दा जोडतोडले उठ्यो । उम्मेदवारले पनि छाडा चौपाया व्यवस्थापनलाई नै प्रमुख एजेन्डा बनाए । निर्वाचित भएपछि ठूलो रकम खर्च पनि भयो  तर छाडा चौपायाको समस्या अहिले पनि जस्ताको त्यस्तै छ । मधेस मानवअधिकार गृहका पूर्वअध्यक्ष रवि ठाकुरले पालिकाले चौपायाको व्यवस्थापन गर्नुपर्छ । चुनावी नारा बनाएको उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए । पालिकाले दीगोरूपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीको रूपमा देखिएको छ । छाडा चौपायालाई थन्क्याउने होइन, कम्पोस्ट मलको स्रोतका रूपमा पनि प्रयोग गर्नुपर्ने हाम्रो योजना रहेको महाराजगञ्ज नगरपालिका प्रमुख अब्दुल कलामले बताए । पशुचौपायाको व्यवस्थापनका लागि महाराजगञ्जमा गौशाला निर्माण भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया