स्कारपिओ छाडेर मोटरसाइकलमा कार्यालय जान्छन् नगरप्रमुख थापा

अर्घाखाँची । सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका– ४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए ।

बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कँदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका थिए ।

भूमिकास्थान नगरपालिका– ४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए ।

‘म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ,’ उनले भने, ‘यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।’

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । ‘नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् वर्षौँदेखी अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ,’ मेयर थापाले भने, ‘हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौँ, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।’

थापाले आफूले सस्तो लोकप्रियताका लागि मोटरसाइकल नचढेको बताए । ‘म न त लोकप्रियता कमाउन मोटरसाइकल चढेको हुँ, न त सरकारी गाडी बहिष्कार नै गरेको हुँ,’ मेयर थापाले भने, ‘विशेष परिस्थितिमा नगरका गाडीहरू पनि प्रयोग गरिन्छ, तर मसँग आफ्नै साधन छ, मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ ।’– हरिप्रसाद भुसाल, न्युज कारखाना

प्रतिक्रिया