अघिल्लो शुक्रबारदेखि नेपालमा उत्पादित सिमेन्ट भारत निर्यात हुन थालेको छ । भारत सरकारको गुणस्तर चिन्ह प्राप्त गरेपछि पाल्पा सिमेन्ट उद्योगले दैनिक पा“च हजार बोरा सिमेन्ट सुनौली आसपासको भारतीय बजारमा पुर्याएको छ ।
नेपालका अन्य २० वटा सिमेन्ट उद्योगले पनि भारत सरकारबाट गुणस्तर चिन्ह लिने प्रक्रिया सुरु गरिसकेका छन् । निकट भविष्यमै आफ्नो उत्पादन भारत निर्यात गर्न सकिने उनीहरूले बताएका छन् । नेपाल सिमेन्ट उद्योग संघका अनुसार हाल नेपालमा आवश्यक पर्नेभन्दा वार्षिक डेढ खर्ब रुपैयाँ बढीको उत्पादन गर्ने क्षमता सिमेन्ट उद्योगहरूसँग छ ।
यस हिसाबले पनि तत्काल वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको सिमेन्ट भारत निर्यात हुनसक्ने अवस्था छ । यता सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा आठ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । साथै वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा सहुलियत दिने व्यवस्था पनि बजेटमा गरिएको छ ।
यो व्यवस्थाले लाभ पाउने भनेको सिमेन्ट उद्योगहरूले नै हो । नेपालको दक्षिणी सीमा जोडिएको भारतीय क्षेत्रमा आफ्नै देशका उद्योगबाट ढुवानी गर्नभन्दा नेपालका उद्योगबाट सिमेन्ट ढुवानी गर्न सस्तो पर्छ । त्यसकारण पनि नेपालले सिमेन्ट निर्यातबाट भारतसँगको व्यापार घाटा कम गर्न सक्ने संभावना बढेर गएको छ ।
यसैगरी विगत तीन महिनाको अवधिमा दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिजुली भारत निर्यात भएको छ । ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेको छ भने थप १२ सय मेगावाट निर्यात गर्ने संझौता प्रक्रियामा पुगेको छ ।
अबको दुई वर्ष भित्रमा नेपाल वार्षिक तीन हजार मेगावाट बिजुली निर्यात गर्ने अवस्थामा पुगिसक्नेछ । यसैगरी भारत निर्यात हुनसक्ने नेपालको अर्को बस्तु भनेको गिट्टी बालुवा हो । तर, विभिन्न कारण गिट्टी बालुवाको निर्यात औपचारिक रूपमा ठूलो स्केलमा हुन सकिरहेको छैन । गिरूी बालुवा निकासीलाई व्यवस्थित गराउनु पर्छ ।
वर्तमान तथ्यांक हेर्ने हो भने भारतबाट नेपालमा वार्षिक करिब १२ खर्ब रुपैयाँ बराबरको बस्तु आयात हुन्छ भने निर्यात डेढ खर्ब रुपैयाँको मात्रै हुन्छ । यो डेढ खर्बको निर्यात पनि सबै हाम्रो आफ्नै उत्पादन होइन ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी उत्पादन गरिएका बस्तु निर्यात भइरहेका छन् । उदाहणका लागि खाने तेल, बनस्पति घिउ लगायतलाई लिन सकिन्छ । तेस्रो मुलुकबाट तोरी किनेर नेपालमा पेली भारतमा निर्यात गरिनु भनेको ठूलो उपलव्धी हुँदै होइन ।
नेपालकै कच्चा पदार्थ र नेपालकै श्रमबाट उत्पादित बस्तु निर्यात गर्न सक्नुपर्छ । बिजुली, सिमेन्ट तथा गिट्टी बालुवाजस्ता निर्माण सामग्रीको निर्यातलाई व्यवस्थित बनाउन सक्ने हो भने भारत सँगको नेपालको व्यापार घाटा समाप्त हुने मात्रै होइन कि नाफामा जाने अवस्था छ । यी तीन वटा बस्तु उत्पादनको सम्भावना नेपालमा जति प्रचुर छ त्यति नै यी बस्तुको बजार पनि भारतमा प्रचुर छ ।
यसैगरी यी तीन वटा बस्तु भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्न सकिने संभावना अत्यन्त नगन्य छ । यसैगरी सस्तो श्रमका लागि नेपाली युवाहरू भारत जाने तर भारतबाट मह“गो ज्याला लिने श्रमिकहरू नेपाल आउने क्रम बढेको छ । जसका कारण भारतबाट आउने रेमिट्यान्सभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स करिब दोब्बर रहेको तथ्यांक छ । भारतीय श्रमिकले गर्दै आएको कामको सीप नेपालीहरूलाई सिकाउनेतर्फ पनि राज्यले ध्यान दिनु जरुरी छ ।
भौगोलिक अवस्थाका कारण नेपालले भारत बाहेक अन्य मुलकसँग सन्तुलित व्यापार गर्न सक्ने अवस्था छैन । सीमा जोडिए पनि भौगोलिक विकटताका कारण उत्तरको छिमेकी मुलुक चीनमा नेपाली उत्पादन निर्यात हुने संभावना अत्यन्त कम छ । चीनबाट वार्षिक तीन खर्ब रुपैँयाको बस्तु आयात हु“दा निर्यात भने ७५ करोड रुपैंया पनि नाघ्न सकेको छैन । यस्तो व्यापारले नेपाल कहिल्यै पनि फस्टाउँदैन ।
व्यापार भनेकै स्वार्थको लेनदेन हो । जहाँबाट किन्दा सस्तो पर्छ त्यहीँबाट किन्ने हो, जहाँ बिक्रि हुन्छ वा जहाँबाट मूल्य बढी पाइन्छ त्यहीँ बेच्ने हो । खासगरी जलविद्युत्, सिमेन्ट तथा गिट्टी बालुवाका सन्दर्भमा नेपाल र भारत दुवैको स्वार्थ मिलेको छ । आफ्नो देशलाई अत्यन्त आवश्यक पर्ने यी तीन वटा बस्तु भारतले अन्य मुलुकबाट आयात गर्न सक्ने अवस्था कम छ । नेपालले पनि अन्य मुलुकमा निर्यात गर्ने अवस्था कम छ ।
प्रतिक्रिया