यसरी लुटिँदैछ पोखराको अस्मिता

डा. खिमलाल देवकोटा

पोखरा महानगरपालिकाको ०७८ चैत १६ मा बसेको कार्यपालिकाको बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर जम्मा ३५ मिटर कायम गर्ने निर्णय गरेर सिमारेखाभन्दा बाहिर गएको छ । संविधान र कानुनले दिएको अधिकार दुरुपयोग गरेको छ । काठमाडौंको सिंहदरबारले मात्र होइन गाउँका सिंहदरबारले पनि नीतिगत भ्रष्टचार गर्दारहेछन् भन्ने बलियो प्रमाण हो यो । पोखरा महानगरपालिकाको नीतिगत भ्रष्टचारलाई सर्वोच्च अदालतको केही दिन अगाडिको फैसलाले झापड हानेको छ ।

कुनै १० जना व्यक्तिलाई नेपालको सबैभन्दा सुन्दर र मनमोहक ठाउँ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद आठ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् । मनोरञ्जनका लागि नेपाल आउने अधिकांश विदेशी पर्यटकहरूको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताललगायत पोखराभित्र र यसको आसपासमा दर्जनौँ रमणीय स्थलहरू छन् । फेवाताल भन्ने बित्तिकै हरेक नेपालीको मन लोभिन्छ । जाउँ–जाउँ सैर गराँै–गरौँ लाग्छ । फेवाताल पोखराको पहिचान मात्र होइन नेपालको गौरव हो । शान हो । एकसाता अगाडि म पोखरा पुगेको थिएँ । पोखरा जाँदा कहिलेकाहीँ फेवातालको सिरानपट्टि रहेको पामेबजारसम्म पुग्छु । म जन्मेको पनि त्यही पामेबजार नजिककै साविक चापाकोट गाविस, हाल पोखरा महानगरपालिका–२३ हो ।

त्यो पामेबजारमा मैले ०३८ सालतिर २५ पैसा प्रतिकप चिया पिएको सम्झना ताजै छ । पोखरा आउजाउ गर्न त्यहाँका नागरिकहरू पामेबजारको डुंगाघाटबाट डुंगा चढ्थे । एक घण्टामा पोखरा पुग्दथे । झण्डै पामेबजारसम्म फेवातालको फैलावट थियो । हर्पन खोला विशाल थियो । डुंगामा प्रति यात्रु एक रुपैयाँ लिने गरेको सम्झना अहिले पनि मलाई छ । २५ पैसाको चिया र एक रुपैयाँको डुंगा चढाइ पैसाको मूल्यको कथा लेख्नेहरूका लागि राम्रो खुराक हुन सक्छ । हामी ०३९ सालतिर तराई झ¥याँै । बीचका धेरै घटनाक्रमहरू ताजा रहेन । सम्झना भएन । यो ४० वर्षको दौरानमा फेवातालको भूगोललगायत यसको सुन्दरता लुटिएको मैले आभाष गरेको छु । विशाल ताल अहिले खुम्चिएको छ । मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरूको चंगुलमा छ ।

फेवातालको पानीको स्रोत/मुहान

हर्पन खोलामाथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ । ढुंगा, गिटी, बालुवा लगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ । दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदै छ । पानीका स्रोतहरू मेटिँदै छन् । तालको मानवीय र प्राकृतिक अतिक्रमणलाई नरोक्ने हो भने अबको १ सय १० वर्षमा यसको अस्तित्व नै समाप्त हुने ताल तथा वातावरण विज्ञहरूको निष्कर्ष छ । तर तालको गरिमा बचाउनभन्दा पनि यसलाई धुमिल पार्न स्वयं सरकारी संयन्त्रहरू नै सक्रिय रहेको आभाष मैले गरेको छु ।

यसपालि पामे बजारजाँदा मलाई साह्रै पीडा महसुस भयो । विशाल ताल खुम्चिएको त हामी सबैले देखेको अनुभूति गरेकै हो । हामीले केटाकेटीमा डुंगा चढ्ने पामेबजारको डुंगाघाटको, सिमसार क्षेत्रमा अहिले घडेरीका लागि जग्गाको प्लटिङ भइरहेको रहेछ । फेवातालमा आएर मिसिने सिमसार क्षेत्रयुक्त त्यो पानीका मुहान थुनिएको छ । डोजर लगाइएको छ । धमाधम प्लटिङ गरिएको छ । मैले मेरै मोबाइलबाट फोटो खिचेर ल्याएको छु । तालको पानीको स्रोत यस सिमसार क्षेत्रमा धमाधम प्लटिङ हुँदा, नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगर पालिका किन मूकदर्शक छन् ?

यसको संरक्षणमा नेपाल सरकार लगायतका सरोकारवालाहरूले गम्भीर रूपमा ध्यान दिनुपर्दछ कि पर्दैन ? रगत–पसिनाले कमाएको कसैको जग्गा ताल सिमानामा परेको प्रमाणित छ भन्ने राज्यले क्षतिपूर्ति दिएर ताललाई जोगाउन पर्दैन ? तालको गरिमा र इतिहास जोगाउँदै यसलाई फैलन दिने हो कि ? खुम्च्याउनमा सहयोग गर्ने हो ? यो मेरो मात्र होइन आमनेपालीको प्रश्न हो ।

साविक ताल हिँडेको कैयौँ स्थानमा अहिले सिमेन्ट रडका कंक्रिटका घरहरू बनेका छन् । तालको सुन्दरतालाई नै अपहरण गरेजस्तो लाग्छ । ताल परिसरमा नै कहीँ कतै प्लटिङका डोजर चलेका छन् । ढुंगा, गिटी, बालुवाको टिपरहरू दौडेका छन् । जग्गाका माफियाहरूले देशभरी जथाभावी कृषिभूमिमा प्लटिङ गरिरहेका छन् । सरकारी जग्गा कव्जागरी प्लटिङ गरी बेचबिखनसमेत गरेका छन् । भिरपाखा र कतै–कतै खोला नालाको आसपासमा पनि जथाभावी प्लटिङहरू गरेको हामीले देखेका छौँ । तर मुलुकको पहिचानसँग जोडिएको, पोखराको मुटु फेवातालको पानी नै छेकेर प्लटिङ गरेको मैलेचाहिँ पहिलोपटक देखेँ । म जन्मेको ठाउँ मात्र भएर होइन सिंगो मुलुकको पहिचानसँग पनि जोडिएको विषय भएको हुँदा मैले आपूmलाई अपमानित र हीनताबोध भएको महसुस गरेको छु । फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरू संम्वेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइँरहँदा टुलुटुल हेरेर बसे ।

सरकारलाई रुलिङ गरियोस्

फेवातालको दुर्दशाबारे यस सदनमार्फत सरकारलाई ध्यानाकर्षण गराइयोस् । सरोकारवाला मन्त्रीलाई रोस्टममा उभ्याइयोस् । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस् । ताल संरक्षण लगायतमा प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने पोखरा महानगरपालिकाले नै यसको अस्मितामाथि झन् खेलवाड गरेको ताल संरक्षणमा चिन्तित हुने लगायतहरूको बुझाइ छ ।

पोखरा महानगरपालिकाको ०७८ चैत १६ मा बसेको कार्यपालिकाको बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर जम्मा ३५ मिटर कायम गर्ने निर्णय गरेर सीमारेखाभन्दा बाहिर गएको छ । संविधान र कानुनले दिएको अधिकार दुरुपयोग गरेको छ । काठमाडौंको सिंहदरबारले मात्र होइन गाउँका सिंहदरबारले पनि नीतिगत भ्रष्टाचार गर्दा रहेछन भन्ने बलियो प्रमाण हो यो । पोखरा महानगरपालिकाको नीतिगत भ्रष्टाचारलाई सर्वोच्च अदालतको केही दिन अगाडिको फैसालाले झापड हानेको छ ।

फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । फेवाताल संरक्षणमा अदालतको फैसला ऐतिहासिक छ । प्रशंसनीय छ । अदालतको फैसलाको सम्मानका लागि पनि ६५ मिटरभित्रका अवैध भौतिक संरचनाहरू तुरुन्त भत्काउनका लागि म जोडदारसँग नेपाल सरकारसमक्ष अनुरोध गर्छु ।

यसै गरी जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको ०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्नसमेत अनुरोध गर्दछु । फेवातालाको संरक्षणमा यतिले मात्र पुग्दैन यसको मुहान हर्पनखोला र यसका आसपासका साविक चापाकोट, भदौरे–तामागी गाविस लगायतका क्षेत्रदेखि नै एकीकृत विकास र वातावरण संरक्षण लगायतका प्याकेजहरू बनाई स्थानीय नागरिकहरूको अग्रसरतामा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूमा समेत अनुरोध गर्दछु ।
(सांसद डा. देवकोटाले राष्ट्रिय सभाको बैठकमा गरेको संबोधनको संपादित अंश)

प्रतिक्रिया