ट्रेन्डभन्दा अलग तर सामान्य मात्र

काठडमाडौं, १८ मंसिर । ‘चन्द्रावती’ हामीले सुनेकै नाम हो । पछिल्लो समय चलेको ट्रेन्डभन्दा अलि भिन्न कथा बोकेको छ, चलचित्र चन्द्रावतीले । वर्षमा एकपटक पढिने स्वस्थानीमा पनि छ चन्द्रावतीको कथा । स्वस्थानी पढेको कथा मन र दिमागमा राखेर चलचित्र हेर्न जानुहुन्छ भने तपाईंको मनमा बसेको कथा चलचित्रको कथासँग मेल नखाने निश्चित छ । किनभने चलचित्रमा स्वस्थानी पढ्दा आउने चन्द्रावतीको जस्तो कुनै कथा छैन । चलचित्र दुई कथामा विभाजित छ । एक राजकुमारी चन्द्रावती र सेनापति रणवीरबीचको प्रेम कथा छ भने अर्काे कलेज पढ्ने केटाकेटी छुट्टी मनाउन चन्द्रावती जंगलतिर हिँडेको कथा । आत्माको पुनर्जन्म हुन्छ भन्ने कथासमेत चलचित्रले उठान गरेको छ ।
चलचित्र शीर्ष भूमिकामा अभिनय गरेका कुशल थापा (युजल) युना उप्रेती (निलीमा) र राजेश हमाल (आकाश अर्थात् युजलको मामा) को वरिपरि नै घुमेको छ । युजल र आकाश एउटै घरमा बस्छन् । युजल कलेज पढ्छ । कलेजमा निलीमा, जोन, अमिसालगायत केही साथी छन् ऊसँग मिल्ने । निलीमाको बर्थडेमा युजललाई अमिसाले मामासँग मिलाउन अनुरोध गर्छे । सबै साथीलाई लिएर युजल गोदावरीमा मामाको सुटिङ हेर्न जान्छ ।
त्यो सुटिङ हेर्दाहेर्दै युजललाई करेन्ट लाग्छ र ऊ पछारिन्छ । युजल पछारिएको देखेपछि आकाशले उसलाई अस्पताल पुर्‍याउँछ । युजललाई करेन्ट लागेको जस्तो नभएको र अवस्था सामान्य भएको बताउँदै डाक्टरले घर लाने सल्लाह दिन्छ । युजललाई केही नभएको कुरा मनमा खेलिरहेका बेला आकाशले टेलिभिजनमा सिक्किमकी एक तान्त्रिक लेडिज डाक्टर नियतिको अन्तरवार्ता हेर्छ । त्यो हेरेपछि सिक्किममा सुटिङमा जाँदा उसले भान्जाका सबै डकुमेन्ट लिएर तान्त्रिकलाई देखाउँछ । उता युजल आफ्ना साथीहरू लिएर चन्द्रावती वनमा छुट्टी मनाउन जान्छ ।
जंगलमा गएपछि त्यस जंगलमा अगाडि बढ्ने सिलसिलामा एकएक गरेर उसका साथीहरूको मृत्यु हुन्छ– हिन्दी चलचित्र ‘काल’मा जंगलमा भएका घटनाजस्तै । युजलका साथी के कारणले भटाभट जंगलभित्र मारिए भन्ने चलचित्रको अत्यतिर रहस्य खुल्छ । चलचित्रको अन्त्य हुनु केही अगाडि समेटिएको राजकुमारी चन्द्रावती र सेनापति रणवीरको केही कथाले चलचित्रको नाम पुष्टि गर्ने प्रयास गरेको छ ।
चन्द्रावतीको कथा अधिकांश हिन्दी चलचित्र ‘काल’सँग मिलेको छ । कथामा नवीनता नभए पनि एकपछि अर्काे गरी आउने दृश्यले कौतूहल पैदा गराउँदै दर्शकलाई अन्त्यसम्म बाँधेर राख्न सफल छ । चलचित्रका नायक कुशल थापाको अभिनय सबैभन्दा राम्रो छ । यसअगाडि फितलो अभिनय गर्दै आएका थापाले यसमा भने सटिक अभिनय गरेका छन् । यसअगाडि आफ्ना सबै चलचित्रबाट दर्शकलाई निरास पार्ने काम गरेका निर्देशक राजु गिरीले कपी नै गरेर भए पनि यो फिल्ममार्फत केही आशा जगाउने काम गरेका छन् ।
अनावश्यक दृश्य राखेर चलचित्र लम्बाउने परिपाटीबाट चलचित्र मुक्त हुन खोजेको छ । आकाशलाई सुपरस्टार बताइए पनि चलचित्रमा त्यस्तो कुनै दृश्य छैन जसले उनलाई सुपरस्टार भनेर पुष्टि गरोस् । हजार भोल्टको करेन्ट लागेको दृश्य देखाइनु र तान्त्रिक डाक्टर बस्ने ठाउँ सिक्किममा हुँदा र काडमाडौं छँदा पनि एउटै देखाइनु, तन्त्रमन्त्र गर्ने डाक्टर जोगीको वस्त्रमा देखिने जस्ता दृश्यले निर्देशकको सामाजिक जीवन बुझ्ने क्षमतामा प्रश्न चिह्न खडा गरेको छ । तान्त्रिकले रातो तथा कालो कपडा प्रयोग गर्छ भन्ने सामान्य ज्ञान पनि निर्देशकमा नभएको देखिन्छ । नायिका युना उप्रेतीले अभिनयमा चमकता देखाउन सकेकी छैनन् । डाक्टर तान्त्रिकको भूमिकामा देखिएकी एलिजा रिजालले आफ्नो भूमिकाप्रति न्याय गर्न सकेकी छैनन् । नायक राजेश हमालको भूमिका छोटो तथा सामान्य नै छ ।
राजकुमारी चन्द्रावतीको भूमिकामा देखिएकी शशी खड्काले भूमिका कुशल तरिकाले निर्वाह गरेकी छन् भने रणवीरको भूमिकामा देखिएका आयुष रिजालको अभिनय चलचित्रको अर्को राम्रो पक्ष हो । चलचित्रको सबैभन्दा सबल पक्ष गीतसंगीत नै हो । सिच्युएसन र पात्रअनुसारको गीतसंगीतले चलचित्रलाई सिँगार्ने काम गरेको छ । सधैँ एकै खाले द्वन्द्व चलचित्रमा गर्ने आरोप लागेका द्वन्द्व–निर्देशक रोशन श्रेष्ठले यस चलचित्रमार्फत उक्त आरोपबाट केही हदसम्म मुक्त हुन खोजेका छन् । सहायक भूमिकामा देखिएका कलाकारहरू मुख्य कलाकारका सहयोगी मात्र बनेका छन् । करिब सवा दुई घन्टाको चलचित्रले मध्यान्तरअगाडि जस्तो गति मध्यान्तरपछाडि भने समात्न सकेको छैन । मध्यान्तरपछि बुनिएको चन्द्रावतीको प्रेमकथा टुंग्याउन अलि हतारो गरिएको छ जसले दर्शकको नजरमा खल्लोपन महसुस गराउँछ । चलचित्रको प्रचार गर्दा निर्माण पक्षले नायक आयुष रिजाल र शशी खड्काको हट सेक्स सिन भनेर प्रचार गरिए पनि चलचित्रमा सुरुदेखि अन्त्यसम्मै त्यस्तो कुनै सिन छैन । यो मामिलामा भने दर्शक झुक्याउने काम मात्र भएको छ ।

प्रतिक्रिया