एमालेमा बीउ रोपेको छु : प्रचण्ड, त्यो बीउ अब काम लाग्दैन् : घनश्याम

प्रचण्ड र घनश्यामको सवाल जवाफ

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ ।

वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् । आजै आयोजित कार्यक्रममा प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए ।

‘कमरेड प्रचण्डले आजै एक कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नु भएछ, त्यो एउटा धारालाई संगठित गर्नको लागि जे भन्नु भएको छ, आजको आवश्यकतालाई बुझ्नु भएन,’ भुसालले भने, ‘यी बीउ नउम्रने बीउ हुन् । रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ ।’

भुसालले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अब हाइब्रिड बीउको जरुरी रहेको बताए । ‘एमाले, माओवादी या समाजवादीको बीउ अब चल्दैन, अस्ति नेकपा हाइब्रिड थियो । तर, भकारीमा आगो लगायौँ, अब फेरि यी बीउलाई हाइब्रिड बनाउनु पर्नेछ,’ भुसालले भने ।

प्रतिक्रिया