बाघले भरियो खोर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पछिल्लो समय बाघको गतिविधि निकै बढेको पाइन्छ । ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन् । हाल कसरामा दुई र सौराहामा दुई खोरमा बाघ रहेका छन् ।

थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छाड्नु वा अन्यत्र पठाउनुको विकल्प नरहेको निकुञ्जले जनाएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।

निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा पनि गत वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनबाट गत बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिए । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो ।

कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भने, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।’

यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । एक जना कर्मचारीको पनि बाघको आक्रमणबाट निकुञ्जभित्र मृत्यु भएको छ । दुई जनाको दाउन्नेको जंगलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो ।

साउनयता चारवटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सँख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ ।

सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभर बाघको सँख्या दुई सय ३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ । (रासस)

प्रतिक्रिया