धनगढी । हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् ।
हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी दिएका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमति भएपछि आफन्त पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका प्रहरीले जनाएको छ ।
जेठ १७ गते रातिदेखि हराएका १५ वर्षीय किशोर विनोद शाही जेठ २१ गते घरभन्दा आधा घण्टाको दूरीमा मृत अवस्थामा भेटिएका थिए । किशोरलाई मारेको आशंकामा आफन्तले शंकास्पद व्यक्तिको किटानीसहित जाहेरी दिन खोज्दा प्रहरी निवेदनसमेत बुझ्न नमानेपछि आफन्तले शव बुझ्न मानेका थिएनन् ।
तर, मंगलबार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको र किटानी दिएका अन्य व्यक्तिलाई पनि पक्राउ गरी मुद्दा दर्ता गर्ने सहमतिपछि आफन्तले शव बुझ्ने भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए ।
‘सीआईबीले मंगलबार साँझ पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लगेको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘किटानी जाहेरीमा नाम भएका अन्य व्यक्तिको पनि खोजी गरिने छ ।’ उनले घटनाको अनुसन्धान सिआईबीको टोलीले गरिरहेको बताए ।
के थियो घटना ?
वैशाख ३० गते स्थानीय तहको निर्वाचन भइरहेका वेला पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिका स्वास्थ्यचौकी मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले अस्वस्थ मानिसलाई समेत च्यापेर बुथ केन्द्रमा लागि कांग्रेसमा भोट हाल्न लगाएको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका थिए ।
विरोधपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । तर, केही समयको झडपपछि सो मतदान केन्द्रमा सहमतिसहित मतदान भयो । मतगणना सकिएर विजयी उम्मेदवारले विजयी जुलुससमेत निकालेका थिए । त्यतिसम्म सामान्य रहेको सो वडाको स्थिति जेठ १७ गते फेरि असामान्य बन्यो ।
जेठ १७ गते निर्वाचनकै विषयलाई दिएर दिउँसो एमाले र कांग्रेसका कार्यकर्ताविच कुटाकुट भएको थियो । एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई दिउँसो कुटपिट गरेका थिए । सोही आवेग पोख्न जेठ १७ गते नै राति ९ बजेपछि कांग्रेसका कार्यकर्ताले प्रहरीको सहारामा मृतक विनोद शाहीको गाउँमा पसेर दमन गरेका थिए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा विकका अनुसार राति ९ बजेदेखि १२ बजेसम्म मृतक युवकको गाउँमा प्रहरीकै सहायतामा महिला बालबालिकामाथि ज्याजति एको थियो ।
‘रातिको समयमा प्रहरीलाई गाउँ पस्ने अधिकार कसले दियो त्यो त थाहा छैन,’ प्रदेशसभा सदस्य विकले भनिन्, ‘तर कानून विपरीत गाउँमा पसेका प्रहरी र कांग्रेसका कार्यकर्ताले जे गरे त्यो एकदमै निन्दनीय कार्य थियो, अक्षम्य थियो ।’
सोही रातिदेखि १५ वर्षीय किशोर विनोद शाही बेपत्ता भएका थिए । उनको खोजी गर्दा जेठ २१ गते पञ्चदेवल विनायक नगरपालिका–४ मा पर्ने मध्य पहाडी राजमार्गको कुच्ची भीरको खोचमा शव भेटिएको थियो ।
आफन्तले १५ वर्षीय किशोर शाहीको हत्या गरिएको भन्दै छानबिनका लागि प्रहरी प्रशासनमा उजुरी दिन जाँदा प्रहरीले उजुरीसमेत लिन नमानेपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले प्रहरीको विश्वास नै नरहेको भन्दै विरोध जनाएपछि सो घटनाको अनुसन्धान प्रहरीको विशेष टोली सिआईबीले गरिरहेको छ ।– मोहन जोशी, न्युज कारखाना
प्रतिक्रिया