सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको मृत्यु

कञ्चनपुर । पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।

तत्कालै प्रहरी चौकी परिसरबाट खटिएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको थियो । उपचारका क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ । प्रहरी नायब उपरीक्षक शाहका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी, बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको छ ।

मृत्युको कारण भने खुल्न सकेको छैन । युवकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । प्रहरीले उक्त हुलिया भएको व्यक्तिलाई कसैले आ–आफ्नो वडा एरियामा देख्नु वा चिनेको छ भने मृतकको घरपरिवार वा प्रहरी कन्ट्रोल १०० मा खबर गरिदिनसमेत अनुरोध गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

प्रतिक्रिया