मुम्बई : बलिउडमा सधैँ अलग प्रकारका भूमिका गर्न रमाउने अभिनेत्रीहरूको कुनै कमी छैन । ती अभिनेत्रीमा प्रियंका चोपडा पनि अग्रपंक्तिमा पर्ने गरेकी छन् । त्यसैले पनि उनी चलचित्र अभिनयका लागि सधै फरक–फरक भूमिका रोज्छिन् । यसपटक उनले आफूले निर्वाह गर्ने भूमिकामा महिला खेलाडीको अभिनय रोजेकी छन् । उनले निर्वाह गर्न लागेको भूमिका ओलम्पिकमा कांस्यपदक जित्न सफल महिला बक्सिङ खेलाडी मेरी कमको जीवनीमा आधारित कथानक रहेको छ ।
मेरी कमको विषयमा संजयलीला भंसालीले आफ्नो आगामी चलचित्र बनाउने भएका छन्, जसमा प्रियंकाले मेरीको भूमिका निर्वाह गर्ने छिन् । यसका लागि प्रियंका आगामी जनवरीबाट आफ्नो भूमिका राम्रो बनाउन अनुसन्धानमा लाग्ने भएकी छन् । चलचित्रको सबै तयारी भइसकेकाले पनि निर्माण पक्षले प्रियंकालाई मेरीसँग वर्कसपमा सहभागी गराउने तयारी गरिहरहेको छ ।
कुनै पनि पुरुष पात्र चलचित्रको लिड रोलमा नदेखिने भएका छन् । चलचित्र युनिटले प्रियंकालाई पहिला त गुजरातको रोमियो–जुलियटको रोलमा उतार्न चाहेको थियो तर त्यसको कथासम्बन्धी केही काम नभएकाले प्रियंकालाई यो नयाँ भूमिका दिइएको हो । चलचित्रमा मेरी कमको भूमिकामा प्रियंका नै उपयुक्त हुने भएकाले पनि उनलाई नै यस भूमिकाका निम्ति छनोट गरिएको निर्माता भंसालीले बताउँदै आएको एजेन्सीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया