नौ वर्ष पूरा हुँदा पनि पुल बन्न सकेन

इलाम । निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुन सकेको छैन । ०७४ सालमै सम्पन्न गर्नेगरी ०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारिको गाडी पारि नै वारिको वारि नै हुने हुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलंगे पुल छ ।
स्थानीयवासीले सोही झोलुंगे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ ।

इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि ०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा ०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।
पटकपटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताए । उनले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गरे । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलोपटक म्याद थपिएको हो । नेसनल नीलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।

उक्त कार्यालयले ५ करोड ८५ लाखमा ठेक्का लगाएको सो काम नीलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो ।

अर्का स्थानीयवासी टीकानाथ ढुंगानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताए । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।
पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उनले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरूले चासो बढाउने बताए ।

निर्माणधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवं भारतका विभिन्न ठाउँका बासिन्दालाई सहज हुन्छ । स्थानीयवासीको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने नवनिर्वाचित नगरप्रमुख केदार थापाले बताए । उनले अब निराशा नहुन पनि स्थानीयवासीलाई आग्रह गरे ।

नगरप्रमुख थापाले समस्या समाधानका लागि आफ्नो ध्यान गइसकेको र तत्काल निर्माणकार्य सम्पन्न गराउन पहल गरिएको बताए । इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँ बजारसम्म पुग्ने मोटरबाटो ग्राभेल गरिएको छ ।

केही हदसम्म बर्खायाममा पनि सवारीसाधन सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो तर स्थानीयवासी तथा जनप्रतिनिधिले खबरदारी गर्न नसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबिचको माइखोलामा निर्माणाधीन यो पुल थालिएको नौ वर्ष पूरा हुँदा पनि अलपत्रै छ ।

प्रतिक्रिया