चार बुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमा

काठमाडौं । चार बुँदे माग राख्दै पुण्य गौतम आमरण अनशन बस्ने भएका छन् । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको गौतमले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका– ६ को कार्यालय अगाडि अनशन बस्ने उनले बताए । हालै एमाले प्रवेश गरेका भाइरल गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् । सुरुको चरणमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने भएका छन् ।

आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताए । पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनको पहिलो माग छ ।

दोस्रो बुँदामा उनले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।

यसै गरी, सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि उनको माग छ । गौतम लामो समयदेखि विभिन्न युट्युबमा अन्तरवार्ता दिएर भाइरल समेत भएका थिए ।

प्रतिक्रिया