हेटौंडा अपडेट : मेयरमा रोचक प्रतिस्पर्धा, फेरि एमाले दोस्रोमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर पदमा रोचक प्रतिस्पर्धा कायमै छ । पछिल्लो २ दिन यता तेस्रो स्थानमा रहेको नेकपा एमाले मतान्तरको खाडल पुरेर आज बिहानबाट दोस्रो स्थानमा उक्लिएको छ । मतगणनाको सुरुवातमा पहिलो स्थानमा गठबन्धन र एमाले बिचको आलोपालो अग्रता थियो । तर अघिल्लो २ दिनयता तेस्रोमा झरेको एमालेले आफूलाई उछिनेको राप्रपालाई पुन पछि पारेको छ । यता गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना कुमारी लामाले पनि आफ्नो अग्रतामा मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।

हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो । २ दिन अघि राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले १३८ मतले अघि लागेको छ । यता अब गठबन्धनकी मिना लामा र एमालेका अनन्त पौडेल बिचको मतान्तर १ हजार २६ रहेको छ । एमालेलाई दोस्रो स्थानमा बढाउन योगदान गरेको हेटौंडा १४ नम्बर वडामा एमाले वियजी भएको छ ।

हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४५ हजार ६९९ मत गणना सकिएको छ । हेटौंडा उपमहानगरपालिकामा झण्डै ७४ हजार मतदान भएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया