काठमाडौं : आफूले पहिले तोकेकै मितिमा चलचित्र प्रदर्शनमा ल्याउने निर्माताहरू सायद कमै होलान् सेल्युलोइड क्षेत्रमा । कहिले क्यू सिस्टममा अन्य चलचित्रहरू घुसाइने त कहीले अगाडि नै प्रदर्शनमा आएका चलचित्रको होल्डओभर पुग्ने, अनि कहिले एकै समयमा तीन/चार फिल्म जुध्ने गर्नाले चलचित्र प्रदर्शन सर्ने गरेको छ । गत शुक्रबार प्रदर्शनमा आउने भनिएको चलचित्र ‘कारबाही’ पनि तीन हप्ता पछि धकेलिएर आगामी २९ मंसिरबाट मात्र प्रदर्शनमा आउने भएको छ ।
शुक्रबार दुई चलचित्र एटिएम र चन्द्रावती प्रदर्शनमा आउने देखेर चलचित्र पछि सारेको निर्माता नारायण मैनालीले बताए । मैनालीले आफ्नो चलचित्र पछि सारे पनि चन्द्रावती प्रदर्शनमा नआउँदा एटिएमले सोलो रिलिज पायो ।
चलचित्र कारबाहीमा समाजमा विकृति र विसंगति फैलाउनेहरूलाई मात्र होइन, निमुखा जनताको भविष्यमाथि खेलवाड गर्ने नेतालाईसमेत कठघरामा उभ्याएर कारबाही गर्नुपर्छ भन्ने सन्देश दिन पनि खोजेको निर्माता मैनालीले बताए ।
राजेश हमाल, राज लामा, राजेन्द्र श्रेष्ठ, लोकेन्द्र सापकोटा, सुनील थापा, सम्राट बस्नेत, दीपा थापा, महिमा सिलवाल, मेरी लिम्बू, सुभाष गजुरेल, बिद्या काकीर्, मिश्री थापा, सपना श्रेष्ठ, बद्री पुडासैनी, कृष्ण सिवाकोटी, नरेश पौडेल, लक्ष्मण रायमाझी, शक्ति पण्डित आदिको अभिनय रहेको चलचित्रमा राहुल राईको छायांकन ,कुमार श्रेष्ठको द्वन्द्व, राजेन्द्र श्रेष्ठको संगीत रहेको छ भने प्रदीप श्रेष्ठ र सुनीलकुमार मगरले संयुक्त नृत्यनिर्देशन गरेका छन् । चलचित्रको निर्देशक किशोर रानाले गरका छन् । (सौस)
प्रतिक्रिया