जनकपुरधाममा कसले मार्ला बाजी

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनले जसपा नेता तथा उपमहानगरपालिकाका निर्वतमान मेयर लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा लगभग दुई गुणा बढी मतले कांग्रेसका उम्मेदवार मनोज साहलाई पराजित गरेका थिए ।

लोसपाबाट मनोजकुमार चौधरी, नेकपा एमालेवाट शिवशंकर साह ‘हिरा’, जसपाबाट लालकिशोर साह, स्वतन्त्रवाट मनोज साह, बलराम महतो र जानकीराम साह रहेका छन् । मनोज साह कांग्रेसतर्फका मेयरको उम्मेदवार थिए तर पाँचदलीय गठबन्धनमा जसपाको खातामा जनकपुरधाम परेपछि मनोज पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम क्षेत्रमा एउटा संघीय र दुईवटा प्रदेश सांसद जितेका लोसपा आफ्ना मेयरका उम्मेदवार मनोजकुमार चौधरीलाई जिताउन सक्रिय रूपमा लागेको छ । वरिष्ठ नेता राजेन्द्र महतोले आपैmँ २४ वैशाखदेखि जनकपुरधाममै बस्दै आएका छन् । नेता महतोले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए ।

यता नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’का लागि एमाले नेता रघुवीर महासेठ र उनका धर्मपत्नी जुली महासेठ एक सातादेखि जनकपुरधाममा रहेका छन् । हिरा जनकपुरधाम उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका छन् । यता एमालेबाट टिकट पाउने आशा राखेका जानकीराम साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन । जसपाका उम्मेदवार लालकिशोर साह पाँच वर्ष जनकपुरधामको मेयर भइसकेका छन् । नगरमा खासै काम नगरेकाले उनीसँग स्थानीयवासी निकै असन्तुष्ट छन् । स्वतन्त्र उम्मेदवार वलराम महतोले पनि प्रचारलाई तीव्रता दिएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको पनि निकै चर्चा रहेको छ । जानकीराम यसअघि जनकपुरधाम–७ का वडाध्यक्ष थिए । उनले नै तत्कालीन मेयर लालकिशोर साहले नगरमा गरेका विभिन्न अनियमितता तथा सफाइको मागसहित आन्दोलन सुरु गरेका थिए । यो आन्दोलनका कारण जानकीराम निकै लोकप्रिय भएका थिए । उनी लोसपावाट नेकपा एमालेमा प्रवेश गरेका थिए । तर, एमालेले टिकट नदिएपछि स्वतन्त्रवाट चुनाव लडेका हुन् । यसपालि तीन वटा पार्टीले मेयरमा महिला उम्मेदवार उठाएका छन् । तमलोपाले विभा ठाकुर, जनमत पार्टीबाट अनितादेवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन । विभा मधेस आन्दोलनमा निकै सक्रिय रहेकी महिला नेतृ हुन् । उनले मनोनयन दाखिला दिनुभन्दा दुई दिनअघि लोसपा छोडी तमलोपामा प्रवेश गरेकी थिइन् ।

पार्टीभन्दा जातीय गणितले स्थानीय तहको चुनावमा काम गर्ने गरेको छ । जनकपुरधाममा साहुजीको मत रहेको छ । त्यसपछि ब्राह्मण, यादव, मुस्लिम मत रहेको छ । प्रतिस्पर्धामा देखिएका अधिकांश उम्मेदवार साह जातिकै देखिएका छन् । जसमध्ये सुडी जातिबाट स्वतन्त्र उम्मेदवारद्वय मनोज साह, वलराम महतो, जसपाका लालकिशोर साह उम्मेदवार रहेका छन् । कलवारबाट शिवशंकर साह ‘हिरा’ र मनोजकुमार चौधरी तथा तेलीबाट जानकीराम साह रहेका छन् । अधिकांश साहुजी जातिबाट उम्मेदवार भएका कारण अन्य जातिको जसको बढी मत आउँछ त्यो नै जित्ने जानकार बताउँछन् ।

लालकिशोर साहलाई ब्राह्मण, क्यास्थ, भूमिहार, राजपूत मात्र नभई साहुजीमा पनि निकै असन्तुष्टि देखिएकाले यादव र मुस्लिम जातिबाट मात्रै मत आउने सम्भावना रहेको छ । जसपा मत पनि ती जातिमा बढी देखिएको छ । गत स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले हात पारेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको आधिकारिक उम्मेदवारभन्दा स्वतन्त्रलाई फापेको इतिहास छ ।

०४६ को जनआन्दोलनपछि पहिलोपटक ०४९ मा भएको स्थानीय तह निर्वाचनमा कांंग्रेसबाट बागी भएर चुनाव लडेका वृषेशचन्द्र लाल मेयर जितेका थिए । त्यतिबेला कांग्रेसबाट दिगम्बर राय र लाल मेयरका आकांक्षी थिए । कांग्रेसले रायलाई टिकट दियो । असन्तुष्ट बनेका लालले बागी उम्मेदवारी दिए । कांग्रेसका आधिकारिक उम्मेदवार रायले हार बेहोर्नुप¥यो ।

प्रजातन्त्र पुनर्बहालीपछि लाल नै जनकपुरधामको पहिलो मेयर बन्न सफल भए । त्यसपछि भएको अर्को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह आकांक्षी थिए । उपाध्यायले टिकट पाएपछि साहले बागी उम्मेदवारी दिए । त्यो निर्वाचनमा साहले पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनिसकेका उपाध्यायलाई पराजित गरे । साहलाई जिताउनमा विमलेन्द्र निधिको ठूलो हात रहेको थियो । निधिका सबै निकटस्थ कार्यकर्ता उपाध्यायविरुद्ध साहलाई जिताउनमा लागेका थिए । स्वतन्त्रले जित हात पार्ने इतिहास बोकेको जनकपुरधाममा फेरि एकपटक स्वतन्त्र उम्मेदवार हौसिएका देखिन्छन् ।

प्रतिक्रिया