“एटिएम” फेरि चलाउने दाउ

काठमाडौं, १० मंसिर । निर्माणकै क्रममा युट्युबमा राखिएको प्रोमोका कारण थुप्रै विवाद र आलोचना झेलेको चलचित्र एटिएम फेरि विवादमा तानिएको छ । सेन्सर बोर्डले काटिदिएका आपत्तिजनक दृश्य जस्ताको तस्तै राखेर प्रदर्शन गरेपछि सरकारले एटिएमलाई रोक लगाएको छ । बोर्डले एडल्ट सर्टिफिकेट दिएको एटिएम शुक्रबार प्रदर्शनमा आएको थियो ।
काटिएका दृश्य जस्ताको तस्तै राखेको पाइएपछि सञ्चार मन्त्रालयले तत्काल एटिएमको प्रदर्शन रोक्न गृहमन्त्रालयलाई अनुरोध गरेको थियो त्यसपछि गृहले सुरक्षा निकायलाई आदेश दिएको थियो । आदेशसँगै काठमाडौंका धेरैजसो हलमा सुरक्षाकर्मी गएर प्रदर्शन रोकेका थिए ।
अनुगमनका क्रममा सेन्सर गरिएका अश्लील दृश्य खुलेआम प्रदर्शन भएको पाइएकाले प्रदर्शनमा रोक लगाइएको सेन्सर बोर्डका अध्यक्ष सुशील ओझाले बताए । ‘बोर्डले सेन्सर भएका चलचित्रको प्रदर्शनलाई नियमित अनुगमन गर्ने गर्छ,’ ओझाले भने, ‘सेन्सरले कैँची लगाएको दृश्यलाई पुन: चलचित्रमा राखेर देखाउनु निर्माताको मूर्खता हो ।’
कानुनभन्दा माथि कोही नभएको उल्लेख गर्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले एटिएमका निर्माताले सेन्सरले कँैची लगाएको दृश्य फेरि राखेर कानुनको ठाडो उल्लंघन गरेको बताए ।
त्यसकारण, चलचित्रमाथि लगाइएको रोक जायज हो, राईले भने ।
चलचित्रमा लाखौँको लगानी हुने भएकाले निर्माताको त्यो लगानी पनि डुब्न नदिनु निर्माता संघको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष राईले चलचित्र पुन: सेन्सर गरेर चलाउने पहल समेत संघले थालेको बताए । यस अगाडि पनि निर्माता जयकिसन बस्नेतको ‘तँ त साह्रै नै बिग्रिस नि बद्री’ पनि यसै गरी रोकिएको र पुन: निर्माता संघकै पहलमा पुन: सेन्सर गरेर चलाएको स्मरण पनि राईले गराए ।
सेन्सर बोर्डले चलचित्रमा समावेश थुप्रै अश्लील संवाद र दृश्य हटाउन भन्दै एडल्ट सर्टिफिकेट दिएको थियो । तर, निर्माणपक्षले सेन्सर बोर्डको आदेशलाई ठाडो अवज्ञा गर्दै सिनेमाबाट त्यस्ता दृश्य नहटाई सेन्सरले दिएको एडल्ट सर्टिफिकेटलाई प्रचारको विषय बनाई चलचित्र प्रदर्शनमा ल्याएको थियो ।
तर, सेन्सरले काटेका दृश्य आफूले प्रदर्शित चलचित्रमा नराखेको दाबी निर्माता थापाले गरेका छन् । ‘सेन्सरले हटाएका दृश्य हामीले पुन: जस्ताको तस्तै राखेकाले सेन्सरले चलचित्र रोकेको होइन, बरु सेन्सरले हटाउन भनेको सेक्स्युअल म्युजिक हटाउन बिर्सिएकाले रोक लगाएको हो,’ थापाले भने । अहिले विवादमा आएका सबै दृश्य र संगीत काटेर पुन: आइतबारदेखि चलचित्र प्रदर्शनमा आउने पनि उनले बताए ।
तर विवादमा आयका दृश्य काटेर आइतबारबाट नै पुन: चलचित्र प्रदर्शन गर्न दिने वा नदिने भन्ने सम्बन्धमा सेन्सरले निर्णय गरिनसकेको अध्यक्ष ओझाले बताएका छन् ।
देशभरका करिब ६० हलमा एकैपटक प्रदर्शन हुन थालेको चलचित्र एटिएमले शुक्रबारको पहिलो सो धेरैजसो चलचित्र भवनमा हाउसफुलको व्यवसाय गरेको थियो । तर, त्यसपछिको कुनै सो पनि प्रदर्शन हुन पाएन । चलचित्र निर्माणपक्षले शुक्रबार र शनिबार आफ्नो चलचित्रले लगानी उठाउने र अन्य समयको प्रदर्शनले नाफा हुने अनुमान गरेको थियो । चलचित्रमा रोक लागेपछि यसका निर्माता तथा निर्देशक यादव सिलवाललाई प्रशासनले खोजिरहेको समाचार बाहिर आएको थियो । यसरी समाचार बाहिर आएपछि निर्माता सम्पर्कमा आए पनि निर्देशक भने सम्पर्क बाहिर छन् ।
दिनेश थापाको प्रस्तुतिमा कुस्मा बुढाथोकीले निर्माण गरेको चलचित्रका निर्देशक यादव सिलवाल हुन् । यसमा तीन नायिका जीया केसी, सोनीया शर्मा र सविना कार्कीका साथै निर्माता थापा मुख्य भूमिकामा छन् । चलचित्रमा तीनैजना नायिकासित नायकका थुप्रै उत्तेजक दृश्य छन् ।

प्रतिक्रिया