उम्मेदवारलाई विष !

सचेत रहन प्रहरीको आग्रह

म्मेदवारलाई विष खुवाएको आरोप लगाउँदै सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन्

सर्लाही । आफ्ना उम्मेदवारलाई विष खुवाएको आरोप लगाउँदै सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवार मो. शेख इस्तिहारलाई विष खुवाइएको आरोप लगाएका हुन् । स्थानीय तहको आगामी निर्वाचनमा इस्तिहार सर्लाहीको हरिवन नगरपालिका–११ को वडाअध्यक्षको उम्मेदवार हुन् । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन प्रचारप्रसारका क्रममा इस्तिहारलाई विपक्षी उम्मेदवारको योजनामा विष खुवाइएको आरोप लगाएका छन् ।

आइतबार विहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रमका क्रमका वडाध्यक्षका उम्मेदवार इस्तिहारलाई विष खुवाइएको उनीहरूको आरोप छ । उनीहरूले एमाले उम्मेदवारको योजनामा विष खुवाएको आरोप लगाएका छन् । विषका कारण वडाध्यक्षका उम्मेदवार इस्तिहारसहित ६ जना बिरामी परेका छन् । बिरामी हुनेमा मोहम्मद रिजवान, ओमप्रकाश साह, शेख आरिफ, पूर्णिमा कार्की र दिलीप खड्का रहेका छन् । वडाध्यक्षका उम्मेदवार इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ ।


इस्तिहारलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ । त्यसअघि उनलाई हरिवनको स्वाभिमान अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । माओवादी केन्द्रका कार्यकर्ताले घटनाको विरोधमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको थियो । घरदैलो कार्यक्रमका क्रममा गाउँलेले दिएको ‘सगुन’ खाँदा उनीहरू बिरामी परेका थिए । भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरूले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ ।

यसैबीच, नेपाल प्रहरीले चुनावी घरदैलो कार्यक्रमका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्तालाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्रहरीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सगुन सेवनपछि कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरू भएको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरू घटेको पाइएकोले यस प्रकारका घटनाहरूबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ’, प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया