‘मत हाल्ने तरिका सिकाउन कोही आएनन्’

दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलोपटक मतदान गर्दैछिन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ । ‘पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन, तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु’, उनले भनिन् । कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन् । ‘अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ’, उनले भनिन् ।

यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताए । निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उनले बताए । ‘मत कसरी हाल्ने भनेर गाउँगाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ’, उनले भने । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताए । ‘भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला !’, उनले भने ।

मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाले नमुना मतदान कार्यक्रम ग¥यो । नमुना मतदानले मतदान प्रक्रियाबारे जानकारी गराएको र बदर मत कम गराउन सहयोग पुग्ने स्थानीयवासी कृष्णराज वाग्लेले बताए । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको औँल्याए । निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताए । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । कार्यालयले मतदान केन्द्रमा पठाउने सामग्री व्यवस्थापनको काम गरिरहेको छ । मतदान केन्द्रमा नियुक्त हुने कर्मचारीसँगै मतपत्र र अन्य सामग्री पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया