निर्वाचन आचारसंहिता विपरीतका माइक बरामद

कास्की । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचारप्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । उम्मेदवारहरूले आचारसंहिता विपरीतका कार्य गरेको जनगुनासापछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पुष्टि भएको छ । समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचारप्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य–सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन् ।

कार्यालयले आगामी दिनमा अनुमति प्राप्त स्थानमा बाहेक अन्यत्र माइक प्रयोग नगर्ने÷नगराउने सर्तनामासहित एकपटकका लागि माइक फिर्ता गरिएको जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत जनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । विभिन्न दल र उम्मेदवारले वडावडामा सांस्कृतिक कार्यक्रमसहित चर्को आवाजमा कार्यक्रम गर्दा आचारसंहिता उल्लंघन हुने गरेको पाइएको छ ।

प्रतिक्रिया