भेटिएन आर्थिक वृद्धि दरको लक्ष्य

काठमाडौं । चालु आर्थिक वर्षका लागि तोकिएको आर्थिक वृद्धि दरको लक्ष्य हासिल गर्न सरकार असफल भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धि दर सात प्रतिशत तोकेको थियो । केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्ष ०७७/७८ को आर्थिक वृद्धिदरलाई संशोधन गर्दै ४ दशमलव ३ प्रतिशत रहेको बताएको छ । विभागले योसँगै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विभागले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०७८/७९ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै सो कुरा बताएको हो । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आव ०७७/७८ मा आर्थिक वृद्धि ४ दशमलव शून्य १ प्रतिशत रहने बताएकोमा त्यसलाई पनि संशोधन गरेको हो ।

वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्ष ०७८÷७९ को बजेटमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्यलाई संशोधन गर्दै कोभिडविरुद्धको खोपको कारण आर्थिक गतिविधि चलायमान भएको भन्दै सात प्रतिशतको वृद्धि हासिल हुने विषयलाई समावेश गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २ दशमलव १२ प्रतिशत ऋणात्मक रहन पुगेको तथ्यांक सार्वजनिक गरे पनि त्यसलाई संशोधन गरेर २ दशमलव ४ प्रतिशत ऋणात्मक रहन पुगको हो ।

त्यतिबेला सरकारले सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताए पनि यसमा संशोधन गर्दै ४ दशमलव शून्य १ प्रतिशत मात्र रहने आँकलन गरिएको थियो । यस्तो अवस्थामा आर्थिक वर्ष ०७७÷७८ को आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा ४ दशमलव शून्य १ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने कार्य पनि चुनौतीपूर्ण रहेको बताइएको अवस्थामा त्यसमा भने केही सुधार भई ४ दशमलव ३ प्रतिशत रहन पुगेको थियो ।

प्रतिस्थापन बजेट सार्वजनिक गर्दा पनि सरकारले सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्ने आधार देखाउन सकेको थिएन । आपैmँले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हाासिल हुन नसकेपछि सरकारले अनपेक्षित वर्षा र बाढीका कारण धानबालीमा पुगेको क्षति र खर्च अवस्था केही कमजोर भएकाले आर्थिक वृद्धिदरले लक्ष्य हासिल गर्न कठिन देखिएको अभिव्यक्ति सार्वजनिक गरिसकेको छ ।

यो भन्दाअघि विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको थियो । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको थियो ।


विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । आइएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।

एसियाका विकसित मुलुकको भने २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहनेछ । पुरै एसियाको भने ४ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर रहनेछ । दक्षिण एसियाली भेगमा भारतले ८ दशलमव २, बंगलादेशले ६ दशलमव ४, श्रीलंकाले २ दशलमव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने उल्लेख छ । विश्व बैंक, एसियाली विकास बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेभन्दा तथ्यांक विभागले भने केही बढी आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

यसैगरी नेपालको अर्थतन्त्रको आकार एक वर्षमै पाँच खर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबर पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा चालु मूल्यअनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबर थियो । आर्थिक वर्ष ०७६÷७७ मा ३४ खर्ब २९ अर्ब रुपैयाँ थियो । अघिल्लो वर्ष दुई खर्ब रुपैयाँले मात्रै अर्थतन्त्रको आकार वृद्धि भएको थियो । कोभिड महामारीका कारण थोरै आकारमा वृद्धि भएको थियो ।

यसैगरी विभागले चालु आव ०७८÷७९ मा आयात २० खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । विभागको अनुमानअनुसार वैदेशिक व्यापार भए व्यापार घाटा १७ खर्ब पुग्ने अवस्था सिर्जना हुनसक्छ । चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत) सम्म आइपुग्दा व्यापार घाटा १३ खर्बभन्दा माथि पुगेको छ । यो अवधिमा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव १३ र निर्यातको हिस्सा ९ दशमलव ८७ प्रतिशत छ ।

बढ्यो प्रतिव्यक्ति आम्दानी

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरको तथ्याकअनुसार प्रतिव्यक्ति आम्दानी भने वृद्धि भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष ०७६/७७ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १ हजार १ सय ५६ अमेरीकी डलरबाट बढेर आर्थिक वर्ष ०७७/७८ मा १ हजार २ सय ३९ र आर्थिक वर्ष ०७८/७९ मा १ हजार ३ सय ७२ अमेरीकी डलर पुग्ने आँकलन गरिएको छ ।

यसैगरी प्रतिव्यक्ति आम्दानी आर्थिक वर्ष ०७६/७७ मा १ हजार १ सय ७० अमेरीकी डलर रहेकोमा आर्थिक वर्ष ०७७/७८ मा १ हजार २ सय ४६ र आर्थिक वर्ष ०७८/७९ मा १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया