काठमाडौं । बड्दो मुल्यवृद्धि र आपुर्ति संयन्त्रमा देखिएको प्रतिकुलताको कारण अर्थतन्त्र दुर्घटनाग्रस्त हुन सक्ने अवस्था औल्याइएको छ । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव समारोहमा बुधबार अर्थतन्त्र जुनसुकै बेला धारासायी हुन सक्ने बताइएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमम अझै केही समय दबाब कायम रहने बताएका छन् । कोभिड संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा चाप थपिने उनले बताए ।
कोभिड संक्रमणको डर कायम रहे पनि सबै नागरिकले खोप लगाएकाले अर्थतन्त्रको पुनरुत्थान हुने उनको भनाई थियो । विदेशी विनिमयमा चाप अझै पर्ने बताउँदै अधिकारीले माग संगै आयात बढ्ने बताए । अधिकारीले असहज स्थिति सिर्जना भए सबै सरोकारवालाबाट आफूले सहयोगको अपेक्षा गरेको भनाई पनि राखेका थिए ।
उनले वर्ष २०७८ आर्थिक पुनरुउत्थानको वर्ष भएको भन्दै आव २०७८ को सुरुमा अधिक कर्जा गएको र त्यो कर्जा आयातमा खर्च भएको बताए । सोही कारण आयात बढेको र विदेशी मुद्रा सञ्चिति घटेर बाह्य क्षेत्रमा दबाब परेको उनको भनाई थियो । विदेशी मुद्रा सञ्चिति ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने अवस्थाबाट घट्दा बाह्य क्षेत्रमा दबाब भएको पनि गर्भनर अधिकारले बताएका छन । लकडाउनले आर्थिक गतिविधि ठप्प भए पनि लकडाउपछि चलायमान हुनुको कारण राष्ट्र बैंकले अघि सारेको नीतिगत उपाय र सहजीकरण रहेकोमा समेत उनले जोड दिए ।
चालु आवमा राष्ट्र बैंकले धेरै नीतिगत व्यवस्था गरेर अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको उनको भनाई छ । रेमिट्यान्स निक्षेपमा १ प्रतिशत बढी ब्याज, नगद मार्जिन, एनआरएनलाई डलर खाता, चाँदी र सुन आयात कडाइ, रिपोदर वृद्धि, पुनर्कर्जा दर ७ प्रतिशत कायम, घर जग्गा सेयर कर्जा जोखिम भार वृद्धि र ८ महिनामा ७२ अर्ब रुपैयाँ तरलता उपलब्ध गराएको तथ्यांक उनले सो अवसरमा सार्वजनिक गरे ।
गभर्नर अधिकारीले भने,‘ निक्षेप भन्दा कर्जा विस्तार उच्च हुँदा बैंकिङ प्रणालीमा तरलता अभाव हुन पुग्यो । तरलता अभावले अल्पकालीन र दिर्घकालीन ब्याजदर बढेको छ ’। सोही कारण राष्ट्र बैंकले डिजिटल करेन्सीबारे अध्ययन गरिरहेको पनि उनको भनाई थियो ।
उनले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने बताएका छन । कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई बलियो बनाउन लचिलो मौद्रिक नीति ल्याएको दाबी गरे । चालु आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा अर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए । रसिया युक्रेन युद्धको कारण नेपालमा पनि केही समय मूल्य बढ्ने उनको भनाई छ । उनले तरलतामा देखिएको समस्या समाधानका लागि ४ सय १३ अर्ब रुपैयाँ रिपो जारी गरेको र अहिलेसम्म करिब ६ खर्ब बैंकलाई तरलता प्रवाह गरेको बताए ।
फागुनमा बेसरेट ८.५८ प्रतिशत रहेको बताउदै गभर्नर अधिकारीले भने, ‘कोरोनाले पारेको असर कम गर्न बैंकले आवश्यक प्रकृया पूरा गरी ऋण नवीकरण गर्न पाउने व्यवस्था गरेको, बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतमात्रै नगद लाभांश दिन पाउने व्यवस्था गरेको हो’ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले अमेरिका र चीनबीच चलेको व्यापार युद्धले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए । उनले भने,‘ग्लोबल सप्लाई चेनमा समस्या परे पनि भारतीय सप्लाई चेनमा समस्या नहुँदा नेपालमा असर परेन ।’ कोभिड–१९ ले अर्थतन्त्रमा असर गरेको उनको भनाई थियो । कोभिड–१९ अघि पनि नेपालको अर्थतन्त्र राम्रो भने नरहेको पनि उनले प्रस्ट पारे । मुद्रास्फीति नियन्त्रण बाहिर जाँदै गरेको भन्दै डा. रावलले अर्थतन्त्रले खतरनाक मोड लिएको र यो जुनसुकै समय दुर्घटना हुनसक्ने चेतावनी दिए । यस्को समाधानको लागि सबैले समन्वय गरेर अघि बढनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा २० बर्ष सेवा पुगेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने केन्द्रीय बैकका ३ वटा युनियनिका अध्यक्षहरुले वित्तीय माफियाले राष्ट्र बैकको स्वायत्तता माथी दवाव दिने क्रम बढेको भन्दै त्यस्को चर्को बिरोध गरका थिए ।
प्रतिक्रिया