धनगढी । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले विभिन्न समिति गठन गरेको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समन्वय, अनुगमन, सचिवालय व्यवस्थापन, प्रचारप्रसार र युवा परिचालन समिति गठन गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवन रानाको संयोजकत्वमा समन्वय समिति गठन गरेको धनगढी नगर सचिव दीनेश खत्रीले बताए । उनकाअनुसार सो समितिको सहसंयोजकमा नरनारायण शाह (मनुु), सदस्यसचिवमा हरिस खडका, सदस्यमा जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधी र प्रदेश सभा सदस्यहरू रहने जनाइएको छ । सो समितिले वडा तहमा देखिएका विवादहरू मिलाउने, पार्टीभित्रका असन्तुष्ट पक्षलाई वार्तामा ल्याउने र सहमतिको प्रयास गर्ने गराउने लगायतका काम गर्नेछन् ।
यस्तै, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला मिश्र भट्टको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ भने सह–संयोजकमा प्रदेश महामन्त्री नरनारायण शाह (मनु) र सदस्य सचिवमा भीम पडाल रहेका छन् । सो समितिमा जिल्ला पदाधिकारी, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश मन्त्री र वहालवाला वडाध्यक्षहरू रहने छन् । सो समितिले नेपाली कांग्रेसका कार्यकर्ताको गतिविधि निगरानी गर्नेछ ।
महासमिति सदस्य उद्धव विष्टको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिको सदस्य सचिवमा अमृत विसी, सदस्यमा रक्षा महरा, महेश गोले, नगर सचिव दीनेश खत्री र नेपाल प्रेस युनियनका अध्यक्ष श्रवण देउवा रहेका छन् । सो समितिले सचिवालय व्यवस्थापन गर्नुका साथै सचिवालयमा आवश्यक सामग्रीहरू तयारी गर्नेछन् ।
नगरसभापति यज्ञराज उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका युवा नेता रमेश भट्टराई, सदस्यमा १९ वटै वडा कार्यसमिति पदाधिकारी, वडाका भ्रातृ संगठनका पदाधिकारीलगायत रहेका छन् ।
सो समितिले प्रचारप्रसारका गतिविधिलाई अघि बढाउने, व्यवस्थापन गर्ने लगायतका गतिविधि गर्नेछ । युवा नेता भक्तबहादुर विष्टको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ । जसको सदस्यमा निराजन खडका, मनिस कुँवर, विनय चोखाल र महेश जोशी रहेका छन् । नगर सचिव खत्रीले युवा परिचालन समितिले नगरभित्रका युवाहरूलाई पार्टीका गतिविधि, पार्टीको प्रचारप्रसार, कार्यक्रम व्यवस्थापनमा समन्वय र सहयोग गर्ने बताए ।
यसै क्रममा धनगढीका १९ वटै वडामा सत्ता गठबन्धनले वडा भेला गर्ने भएको छ । चुनावीप्रचार प्रसार र गठबन्धनभित्र कुनै पनि रुष्टता नरहेको भन्दै बिहीबारदेखि वडा भेला गर्न लागेको हो । धनगढी उपमहानगरपालिका–१४ मा बिहीबार बिहान ८ बजे, वडा–१८ मा १० बजे र वडा–१९ मा ४ बजे वडा भेला गर्ने जनाएको छ ।
यस्तै १६ गते वडा–८, ९, १० र १२ मा, १७ गते वडा–१, २ र ३ मा वडा भेला गर्नेछन् भने १८ गते केन्द्रीय स्तरकै नेताहरूलाई बोलाएर बृहत् भेला गर्न लागेको हो । १८ गते हुने बृहत् भेला कहाँ गर्ने भन्ने अहिलेसम्म स्थानको टुंगो लागेको छैन । बृहत् भेलामा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, १९ गते वडा–११, १३ र ४ मा वडा भेला गर्ने कार्यक्रम तय गरेको छ भने २० गते १५, १६ र १७ गते वडा भेला गरिनेछ । २१ गते वडा–५, ६ र ७ मा वडा भेला गर्ने कार्यक्रम तय गरिएको छ । वडा भेलामा नेपाली कांग्रेसका नेता, माओवादी केन्द्रका नेता, एकीकृत समाजवादीका नेताहरूको सहभागिता रहनेछ ।
प्रतिक्रिया