योग्यता र क्षमता विनाको महत्वकांक्षा कतिसम्म घातक हुँदोरहेछ भन्ने कुरा हाम्रो मुलुकका राजनीतिकर्मीहरूले पुष्टि गर्न थालेका छन् । पार्टीको सर्वोच्च पदमा रहेका र पटकपटक प्रधानमन्त्री बनेर मुलुकको कार्यकारी नेतृत्व सम्हालीसकेका नेताहरूको समेत भाषाशैली अत्यन्त निकृष्ठ देखिएको छ । आसन्न स्थानीय निर्वाचनअन्तर्गत मतदानको मिति नजिकिँदै गर्दा जिम्मेवार नेताहरू अत्यन्त फोहोर र अश्लील गालीगलौजमा उत्रन थालेका छन् । फोहोरी गालीगलौजको मामिलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा अघि देखिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले गत मंगलबार मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै नेपाली कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’ को संज्ञा दिएका छन् । पागल प्रलाप भनेको अत्यन्त अभद्र गाली हो । यो अभद्र गाली फिर्ता लिन नेपाली कांग्रेसले एमाले अध्यक्ष ओलीलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । तर ओली अहिलेसम्म यो अभद्र गाली फिर्ता लिन त कताकता गल्ती महसुस गर्नसमेत ओली तयार देखिँदैनन् ।
पार्टी विभाजन गरेका कारण र आफूलाई सत्ताबाट हटाइदिएका कारण एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग बढी नै आक्रोसित हुनु अस्वभाविक होइन । प्रचण्ड र नेपाल पनि कहिलेकाहीँ जुहारीमा सरिक भएका कारण ओलीले दिएका अभिव्यक्तिलाई अस्वभाविक मानिएको पनि छैन । तर, नेपाली कांग्रेसविरुद्ध अपशब्द प्रयोग गर्न ओली किन उद्यत भए ? भन्ने प्रश्न भने निकै पेचिलो छ ।
मुलुकमा सुशासन कायम गर्ने मामिलामा, विकास निर्माणको मामिलामा, जनताको चित्त बुझाउने मामिलामा, भारतको हेपाह प्रवृत्तिको प्रतिकार गर्ने मामिलामा नेपाली कांग्रेस र यो पार्टीका नेताहरू खरो रूपमा उत्रन सकेका छैनन् भन्ने कुरा सत्य हो । यस वापत नेपाली कांग्रेसलाई जनताले दण्डितसमेत गरिसकेका छन् । तर राजनीतिक संस्कार, विपक्षी पार्टी तथा ती पार्टीका नेताहरूप्रति गरिने टिप्पणीका मामिलामा नेपाली कांग्रेसका नेताहरू खासै चुकेका छैनन् । डेढ महिनाअघि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले अन्य पार्टीका नेताहरूप्रति गरेको तीतो टिप्पणीलाई लिएर पार्टी सभापति शेरबहादुर देउवाले ‘आइन्दा त्यस्तो नबोल्न’ सर्कुलर नै जारी गरेका थिए । त्यस यता नेपाली कांग्रेसको कार्यकर्ता तहबाट समेत आफ्नो चुनावी प्रतिस्पर्धी एमालेप्रति असभ्य टिप्पणी गरेको सुनिएको छैन ।
एमाले अध्यक्ष ओलीले गत मंगलबार नेपाली कांग्रेसका नेताहरूप्रति गरेको अभद्र टिप्पणी घोषणापत्रका मामिलालाई लिएर हो । नेकपा एमालेले पाँच वर्ष अघिका चुनावमा जनताबीच भोटमाग्न जाँदा के के वाचा गरेको थियो ? र ती वाचाहरू के के पूरा भए ? भन्ने सन्दर्भमा नेपाली कांग्रेसका घोषणापत्रमा केही प्रसंगहरू उल्लेख छन् । एमालेको घोषणापत्रमा उल्लिखित बु“दा र शासन सत्ता सञ्चालनका क्रममा उत्पन्न भएका विभिन्न प्रकरणहरूलाई चुनावी मुद्दा बनाउनु नेपाली कांग्रेसको धर्म नै हो । बहुदलीय शासन व्यवस्थामा यसलाई स्वभाविक मानिन्छ । चुनावमा जाने महत्वपूर्ण दस्तावेज भनेको घोषणापत्र नै हो । ओलीको कार्यकालमा विकास निर्माण अलपत्र परेको र भ्रष्ट्राचार तथा कुशासन मौलाएको कुरा नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा लेखेको छ । निश्चय पनि ओलीका लागि यो प्रिय कुरा होइन । तर, नेपाली कांग्रेसले आफ्नो पार्टीका लागि भोट माग्न घोषणापत्र बनाएको हो या एमालेका लागि भोट माग्न घोषणा पत्र बनाएको हो ? कम्तिमा यति भेउ त दुई÷दुईपटक प्रधानमन्त्री बन्नुभएका एमाले अध्यक्ष ओलीले पाउनै पर्छ । होइन भने उनी नेता बन्न योग्य छैनन् । आफ्ना दिमागमा खेलेको कुराको ठीक विपरीत नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेग गरेकै कारण ओली गालीगलौजमा उत्रेका हुन् भन्ने सन्देश जानु एमाले स्वयंका लागि पनि राम्रो होइन । दुई÷दुईपटक मुलुकको प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष ओली स्वच्छ चुनावी प्रतिस्पर्धा गर्न छाडेर यस्तो निकृष्ठ गालीगलौजमा किन उत्रे ? के नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र पागलहरूको प्रलाप हो त ? भन्ने सन्दर्भमा मुलुकको सचेत वर्गले पनि प्रश्न उठाएको छ । यो प्रश्नको जवाफ ओलीले दिनै पर्छ । मनोविश्लेषकहरूका अनुसार कोही कोही मानिसमा स्क्रिजोफेनिया भन्ने गुण हुन्छ ।
यो गुणले मान्छेलाई जुझारु त बनाउँछ, तर यस्तो गुण भएको मानिसले चारैतिर अवास्तविक कुरा मात्र देख्छ । पूर्वप्रधानमन्त्री ओलीले पनि आफ्नो कार्यकालमा जतासुकै विकासै विकास भएको देखेका छन् । आफ्नो कार्यकालमा भ्रष्टाचार शून्य भएको र सुशासन मौलाएको ओलीले देखेका छन् । तर ओलीको कार्यकालमा विकास निर्माण अलपत्र परेको र भ्रष्ट्राचार तथा कुसासन मौलाएको कुरा नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा लेखेको छ । आफ्ना दिमागमा खेलेको कुराको ठीक विपरीत नेपाली कांग्रेसले घोषणापत्रमा उल्लेख गरेकै कारण ओली गालीगलौजमा उत्रेका त होइनन् ?
प्रतिक्रिया