युवा मतदाता भन्दछन् :  निः शुल्क शिक्षा र रोजगारी चाहियो

काठमाडौं । राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरुले भने उम्मेदवारसँग उनीहरुको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क हुनुपर्ने र रोजगारी अवसरमा उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् । गाउँपालिका वा नगरका पदाधिकारीका उम्मेदवारहरुले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ । दलहरुका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन् । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलो पटक मतदान गर्न लागेका युवाहरु अपेक्षित उत्साह नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत भएको पाइएको छ ।

काठमाडौं उपत्यकाका पालिकामा मतदान गर्न लागेको युवा मतदाता र उपत्यकाबाहिर पनि निर्वाचनका लागि जान लागेकासँग कुरा गर्दा उनीहरुमा उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए । पहिलो पटक मतदानमा सहभागी हुन लागेका कतिपय युवा जोसुकै जिते पनि फरक पर्दैन भन्ने भए पनि आफूले सोचेर र बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै छन् । पाका उमेरका मानिसले विगतमा के के काम ग¥यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाहरुले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका विजय ढकाल पहिलो पटक मतदान गर्न लागे पनि निर्वाचनमा आफूले कसलाई र किन भोट हाल्ने भन्नेमा प्रस्ट छन् । उम्मेदवारमध्ये पनि युवा व्यक्ति र कुनै न कुनै क्षेत्रमा ज्ञान हासिल गरेको र केही गर्छु भन्ने योजना भएको व्यक्ति छान्ने उनको भनाइ छ । प्राविधिक शिक्षाको विकास गर्ने सबैले भने पनि ठोस रुपमा हुन नसकेकाले अब विजयी भएर आउने व्यक्तिले प्राविधिक शिक्षाको विकासका लागि लगानी बढाउनुपर्नेमा उहाँको जोड छ । उनले भने, ‘नगरपालिका आफैँले लगानी गरेर कलेज खोल्नुपर्छ र रोजगारीका अवसर पनि बढाउनुपर्छ ।’

आफूले परिवारको दबाबमा नभएर आफ्नो इच्छाअनुसार नै मतदान गर्ने ढकालले बताउनुभयो । युवाहरुले पारिवारिक पार्टीभन्दा पनि को ठीक छ र कसले काम गर्नसक्छ भन्ने हेरेर मतदान गर्नुपर्नेमा उनको भनाइ छ । हजुरबुबाहजुरआमा जुन पार्टी बुबाआमा एउटै पार्टी र आफू पनि त्यही पार्टीमा भोट हाल्नुपर्छ भनेर परिवारले दबाब दिने प्रवृत्ति गलत भएको उनले औँल्याए ।

सल्यान बाघचौर नगरपालिकाकी समृद्धि खनाल पनि उत्साहका साथ पहिलो पटक मतदान गर्न घर जाँदै छिन् । अहिले स्नात्तकोत्तर (एमबिए) अध्ययनरत उनी जुनसुकै दल वा व्यक्ति निर्वाचनमा विजयी भए पनि शिक्षाको विकासको ध्यान दिनुपर्नेमा जोड दिइन् । शिक्षा क्षेत्र सेवा भए पनि अहिले व्यवसाय भइसकेकाले नियम बनाएर जनप्रतिनिधिले सुधार्न सक्ने खनालले बताइन । निजी कलेजहरु त्यसमा पनि प्राविधिक विषयमा अध्ययन गर्न महङ्गो भएकाले नगरपालिकाले नै लगानी बढाउनुपर्ने उनले बताइन । आफू पनि बाध्यताले स्नाकोत्तर गरेपछि विदेश जाने सोचेको उनको भनाइ छ ।

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिकाका नितेश थापाले अब विजयी हुने पदाधिकारीले शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृति विकास लगायतका सबै क्षेत्रमा विकासका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताए । विकासको योजना बनाउँदादेखि नै युवालाई सहभागी गराउनुपर्नेमा उनको जोड छ । उनले भने, ‘योजना बनाउनेदेखि कार्यान्वयनसम्ममा युवा सहभागी हुनुपर्छ ।’ आसन्न निर्वाचनमा थापाले अपेक्षा गरेका विषयमा ध्यान दिने उम्मेदवार देखिएको बताए । नयाँ सोच भएका र युवा व्यक्तिले केही गर्न चाहे पनि अधिकांशले नपत्याउने हुँदा जित्न गाह्रो पर्ने उनको भनाइ छ । कतिपयले पटक पटक आश्वासन दिएर पूरा नगरे पनि पत्याउने तर युवा र केही गर्छु भन्ने फरक सोचका मान्छेलाई सबैले नपत्याउने उनको भनाइ छ ।

जनकपुर उपमहानगरपालिकाका रितेश यादवले जनप्रतिनिधिले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए । कृषि विषयमा स्नातक गरिरहेका उनी कृषि निर्भर देश भए पनि अहिलेसम्म कृषिको क्षेत्रमा योजनाबद्ध विकास हुन नसकेको बताए । परिवारले एकातिर भोट हाल्ने भए पनि आफू फरक ठाउँमा हाल्ने उनले बताए । बुबाआमाले आ–आफ्नो ठाउँबाट सोचेको व्यक्तिहरु आफूलाई सही नलागेको उनले बताए । उनले भने, ‘अघिल्लो पुस्ताले अहिलेसम्म के के ग¥यो हेर्नुहुन्छ तर हामी भविष्यमा के गर्नसक्छ भनी हेरेर भोट हाल्छौँ ।’

स्थानीय निर्वाचनमा पार्टी हेरेर नभई व्यक्ति हेरेर भोट हाल्नुपर्नेमा यादवको आफूजस्तै आमयुवा मतदातालाई सुझाव छ । प्रदेश र प्रतिनिधिसभामा केन्द्र वा प्रदेशमा पुगेर नीति बनाउने वा सरकार बनाउने हुँदा पार्टी पनि हेर्नुपर्छ स्थानीय निर्वाचनमा भने जनताका काम गर्नसक्ने व्यक्ति को हो भनी हेर्नुपर्ने उनको भनाइ छ ।

ललितपुर गोदावरी नगरपालिकाकी स्मृति महर्जन पहिलो पटक मतदान गर्न लागे पनि आफूले उम्मेदवारका बारेमा बुझेर मात्रै मतदान गर्ने बताइन । पदाधिकारी, वडाध्यक्ष र सदस्यमा धेरै व्यक्ति उम्मेदवार भए पनि मिडिया वा सामाजिक सञ्जालमा थोरै व्यक्तिका बारेमा मात्रै आउँदा मतदाताको छनोट गर्न गाह्रो हुने बताइन । शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने र सबै लिङ्ग, वर्ग, क्षेत्रलाई समेटेर उम्मेदवार बनाएको दललाई भोट हाल्ने उनको योजना छ । उनले भनिन, ‘युवा, महिला, बालबालिकाको समस्या बुझेर समााधन गर्न सक्छु भन्ने मान्छे चाहिन्छ ।’

निर्वाचनमा उम्मेदवार भएका व्यक्ति सकेसम्म भ्रष्टाचारको कुनै पनि मुद्दा नलागेको हुनुपर्नेमा महर्जनको जोड छ । आफूले लुटेर खाए पनि काम गर्ने मान्छे हुँदा राम्रो हुने उनको भनाइ छ । नगरपालिकाका बारेमा राम्रो सोच्ने मान्छे जितेर आओस् भन्ने उनको चाहना छ । निर्वाचन आयोगका अनुसार यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी छन् । तीमध्ये पछिल्लो पाँच वर्षमा थपिएका मतदाताको संख्या ३६ लाख ६९ हजार २९९ छ ।

प्रतिक्रिया