काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील गायक, मोडल तथा सर्जक प्रशान्त मिस्टले नयाँ गीति भिडियो सार्वजनिक गर्न लागेका छन् । गायक मिस्टको पाँचौं एल्बमको रुपमा रहेको ‘मेरो देश नेपाल’ भित्रको ‘कसरी’ बोलको गीतको भिडियो सार्वजनिक हुन लागेको हो । ‘मेरो देश नेपाल’ एल्बमभित्र राष्ट्रिय भावमा आधारित गीतहरु रहेको गायक मिस्टले जानकारी दिए । सातवटा गीत रहेको सो एल्बमका गीतमा गायक मिस्टकै शब्द, स्वर तथा भिडियो निर्देशन र सम्पादन रहेको छ ।
उक्त एल्बममा मेरो देश नेपाल, कसरी, हाम्रो जिन्दगानी, पहाड–तराई–हिमाल, मध्यरातमा, मेरो देश–हाम्रो देश, मलाई पनि जस्ता पप शैलीका गीत समेटिएको गायक मिस्टले जानकारी दिए । उनले भने, ‘गीत त गाइन्छ तर देशप्रेमको गीत गाउनु र लेख्नुको मज्जा नै बेग्लै छ ।’ उनले देशप्रतिको सम्मान र माया दर्शाउन नै यो एल्बम निकालेको बताए । गायक मिस्ट पछिल्लो समय स्टेज कार्यक्रम र सांगीतिक कन्सर्टमा निकै रुचाइएको गायक हुन् । उनी हिपप, फ्युजन तथा रक टाइपको गीतमा अब्बल छन् । करिब तीन दर्जनको हाराहारीमा स्वर दिइसकेका उनले पप गीत–संगीतको बजार राम्रो भएको बताए । उनले भने, ‘पपमा पनि रेडिएसन छ । हिपप पनि कोलाव्यरिट गरिरहेको हुन्छु । फ्युजन टाइप पनि गरिरहेको हुन्छु । रक टाइपको पनि गीत गरिरहेको हुन्छु । त्यसकारण पनि ठीक छ ।’
प्रतिक्रिया