एक सय कुकुर मारिए

गुल्मी, २४ कात्तिक । पशु अधिकार उल्लंघन गर्दै गुल्मीमा एक सय भुस्याहा कुकुर मारिएको छ । तम्घास गाविस तथा जिल्ला पशु सेवा कार्यालय गुल्मीको समन्वयमा बिहीबार बिहान कुकुर मारिएको हो । सदरमुकाम तम्घास बजारमा रहेका कुकुरलाई विष खुवाएर मारिएको थियो ।

समाजमा भुस्याहा कुकुरको टोकाइको त्रास फैलिएका कारण कुकुर मारिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख हरि कुँवरले बताए । ‘पशु मार्ने अधिकार त छैन तर स्थानीय निकायले स्थानीय स्वायत्त शासन अनुसार मार्न सक्छ,’ कुँवरले भने, ‘निजी कुकुरलाई मालिकहरूले भ्याक्सिन लगाउँछन्, भुस्याहा कुकुरलाई कसले पैसा खर्च गर्ने ? एउटै भ्याक्सिनको १ सय ५० रुपियाँ पर्छ, त्यसैले मारिएको हो ।’ तर केही समय पहिले पशु अधिकारविपरीत हुने भन्दै पशु सेवा कार्यालयले कुकुर मार्न रोक लगाएको थियो ।
जिल्लामा पटक–पटक कुकुरले सताएको भनेर डेलिगेसन आएपछि सिडिओ कार्यालयले गाविस र पशु कार्यालयको समन्वयमा कुकुर व्यवस्थापन लागि आदेश गरिएको सिडिओ कवीन्द्र नेपालले जानकारी दिए । ‘समस्या ठूलो बन्दै गएका कारण व्यवस्थापनका लागि आग्रह गरिएको हो तर प्रशासनले मार्नै पर्छ भनेको होइन,’ सिडिओ नेपालले भने ।

प्रतिक्रिया