काठमाडौं : आज शुक्रबारबाट चार नयाँ नेपाली चलचित्र रिलिज हुँदै छन् । सबिर श्रेष्ठद्वारा निर्देशित इशारा, आरबीके शरद केसीद्वारा निर्देशित नबोले नि हाँसिराख न, किशोर चौधरीद्वारा निर्देशित भेटी र सचिनराज अमात्यद्वारा निर्देशित आई एम इन लभ प्रदर्शनमा आउन लागेका हुन् ।
इसारा सामाजिक नारीप्रधान चलचित्र रहेको निर्मात्री तथा नायिका उमा बेबीले बताइन् । रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भूपेन चन्दको मुख्य भूमिका रहेको चलचित्र काठमाडौं उपत्यकामा मात्र लाग्दै छ । शिवम अधिकारीको कथा रहेको इसारामा शिव ढकालको छायाँकन, महेश खड्काको संगीत, किरण खरेलको गीत र कमल राईको नृत्यनिर्देशन छ ।
नबोले नि हाँसिराख नले समग्रमा नेपाली जनजीवनसँग मेल खाने कथावस्तु बोकेको निर्देशक केसीले बताए । केसीले भने– ‘यसले नि:स्वार्थ सेवा नै धर्म हो भन्ने सन्देश बोकेको छ ।’ नेपालभरका चालीसवटा हलमा एकसाथ चल्ने बताइएको चलचित्रमा निखिल उप्रेती, ऋचा सिंह ठकुरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
नारायण खतिवडाद्वारा निर्देशित भेटी पनि देशभरका हलबाट प्रदर्शनमा आउन लागेको छ । धनी–गरिबबीचको सम्बन्धले सिर्जना गर्ने परिस्थिति, उत्पन्न घटनाहरूलाई कथानक मोड दिँदै चलचित्रलाई रोमाञ्चक शैलीको बनाइएको निर्माता खतिवडाले बताए । रेखा थापा, रागिनी खड्गी, राजेन्द्र खड्गी र प्रमोद खड्काको मुख्य भूमिका रहेको चलचित्रमा निर्देशक चौधरीकै लेखन तथा संगीत, राजु केसीको छायांकन, राजेन्द्र खड्गीको द्वन्द्वनिर्देशन तथा सुरेश चौधरीको नृत्यनिर्देशन छ ।
आई एम इन लभ पनि देशभरका हलमा लाग्दै छ । बाबु बोगटी र अनु शाहको मुख्य अभिनय रहेको चलचित्र विष्ण्ुा बस्नेतले निर्माण गरेका हुन् । (सौस)
प्रतिक्रिया