काठमाडौं : राजेश थापा उति चर्चामा छैनन् तर संगीत क्षेत्रमा डेढ दशकभन्दा बढीको यात्रा तय गरिसके । क्लासिकल संगीतका यी गुरु भन्छन्– ‘अझै संघर्ष गर्दै छु ।’ त्यसो त उनले थुप्रै गीतमा संगीत भरिसकेका छन् ।
सानैदेखि संगीतमा आकर्षण बढेपछि एसएलसी सकिनासाथ यसै क्षेत्रमा संघर्ष सुरु गरे उनले । ०५४ सालबाट आरआर क्याम्पस भर्ना भएर संगीतको औपचारिक अध्ययन गर्न कस्सिए । दीपक जंगम, कमल क्षत्री, धनबहादुर गोपालीजस्ता सांगीतिक हस्तीलाई गुरु थापेर सांगीतिक क्षमता बढाउँदै लगे । आरआर क्याम्पसबाट संगीत विषयमा स्नातक गरे । यससँगै भारतको इलाहाबादस्थित प्रयाग संगीत समितिबाट क्लासिकल म्युजिकमा डिप्लोमा पनि भ्याए । सरकारी छात्रवृत्तिमा सांस्कृतिक संस्थानबाट पनि एकवर्षे प्रशिक्षण लिएको उनी बताउँछन् । काभ्रेमा जन्मिएका राजेश स्कुल पढ्दैदेखि संगीत भनेपछि हुरुक्कै हुन्थे । स्थानीय स्तरमा हुने सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाइहाल्थे । रेडियोमा नारायण गोपाललगायतका सुमधुर गीत बज्दा उनी कल्पन्थे– यस्तै गीत सिर्जना गर्न पाए । संगीतप्रतिको यही गहिरो अनुराग अनि संघर्षशील स्वभावका कारण अहिले आएर संगीत उनको पेसा बनिसकेको छ । दुई दर्जन बढी गीतमा संगीत भरिसकेका उनी स्कुल–कलेजमा संगीत विषय अध्यापन पनि गर्छन् । संगीता प्रधान, रीमा गुरुङ, दीपक लिम्बू, अञ्जु पन्त, स्वरूपराज आचार्य, शिशिर योगी, शिव परियारजस्ता अहिलेका चल्तीका गायक–गायिकाले उनको संगीतमा स्वर दिएका छन् ।
पछिल्लो समय उनको व्यस्तता झन् बढेको छ । एकसाथ तीनवटा एल्बममा सोलो संगीत दिनुपर्ने जिम्मेवारी उनलाई आएको छ । एउटा एल्बममा पद्मालिंखा मगरको एकल रचना रहेको छ भने अर्को एल्बम तिब्बत दर्लामी र नवीन उदासको संयुक्त रचनामा तयार हुँदै छ । आधुनिकसँगै बालगीतमा पनि संगीत दिँदै आएका राजेशको एकल संगीतमा बालगीतहरूको नयाँ सँगालो पनि बजारमा आउने तयारीमा छ । संगीतलाई आफ्नो धर्म मान्ने राजेश भन्छन्– ‘संगीतबाट एक छिन पनि टाढिएर बस्न सक्दिनँ ।’
प्रतिक्रिया