नयाँदेखि पुराना सबै गायकगायिकाको रोजाइमा पर्छन् संगीतकार राजु सिंह । अढाइ दशकभन्दा बढी समयदेखि संगीतक्षेत्रमा समर्पित राजुले यस्ता थुप्रै गीत सिर्जना गरिसकेका छन्, जसलाई दर्शक श्रोताले अधिक रुचाएका पनि छन् । भन्छन्– अब त्यस्ता गीत सिर्जना गर्न सकुँला–नसकूँला । आज उनी सम्झँदै छन्, आफ्ना महत्त्वपूर्ण गीतहरू :
रित्तो सडकमा : यो गीत मेरो जीवनको टर्निङ प्वाइन्ट हो । वसन्त बित्यासीजीले लेख्नुभएको । त्यतिबेला कहाँ तिम्रो मायालु, आकाशको बादललगायत मेरा गीत चर्चामा थिए । बित्यासीजी मलाई खोज्दै पोखराबाट काठमाडौं आउनुभएछ । भन्नुभयो– ‘तपाईंले मेरो गीतमा संगीत भर्नुपर्यो ।’ प्रतिबिम्ब एल्बममा राखिएको यो गीतमा मैले पहिलोपल्ट फ्युजन संगीत गरेँ । जोनजीको स्वर रहेको यो गीतमा भैरवी राग मिसाइएको छ । यो गीतले मलाई जुन उचाइमा पुर्यायो, वर्णनै गर्न सक्दिनँ । रोशनप्रतापजीले बनाउनुभएको यसको म्युजिकभिडियोले पनि निकै चर्चा कमायो । अमर गुरुङ, कुन्ती मोक्तानलगायतले आफूलाई मन पर्ने गीतको सूचीमा यसलाई पनि राख्नुभएको छ । बालकदेखि वृद्धसम्मको हृदय जितेको यस्तो गीत अहिलेसम्म अर्को किन बनाउन सकिनँ भनेर थकथकी लागिरहन्छ ।
नजरको दोषी : गायिका रीमा गुरुङले स्ट्रगल पिरियडमै गाएको गीत हो यो । त्यसअघि आधुनिक गीत नगाएकाले उनले यसका लागि चार–पाँच दिन मेरो घरमै आएर मेहनतपूर्वक प्राक्टिस गरेकी थिइन् । उनको मेहनत अझै सम्झन्छु । वसन्त बित्यासीले लेख्नुभएको यो गीतमा सुरुमा ‘साइँला’ भन्ने शब्द थिएन । गीतलाई मीठो बनाउन हामीले त्यो शब्द प्रयोग गर्यौँ । त्यसो त बित्यासी आपैँm साइँलो छोरो भएकाले गीतमा उहाँको चिनारी पनि आयो । साह्रै नै चर्चामा रहेको यो गीत अहिले पनि विभिन्न अडिसनमा निकै गाइन्छ । यो गीतले नयाँ पुराना पुस्ताबीच मेरो पनि इज्जत बढाएको छ । सबैले प्रशंसा गरेको सुन्दा यो एउटा अजम्बरी सिर्जना भएजस्तो लाग्छ । एउटा मेल कम्पोजरले फिमेल सेन्टिमेन्ट बोकेर कम्पोज गर्न गाह्रो हुन्छ तैपनि मैले यसमा न्याय गर्न सकेछु जस्तो लाग्छ । गीतमा नेपालीपन छ । अहिलेकि चर्चित गायिका दुर्गा परियारले देशविदेशका कार्यक्रममा यो गीत गाइरहन्छिन् ।
फेरि तिम्रो याद आयो : ०५२/५३ सालतिर होला, म एभरेस्ट होटलमा काम गर्थें । गायक आनन्द कार्की त्यहाँ गजल गाउनुहुन्थ्यो । उहाँले ‘राजु भाइ, अहिले बजारमा तपाईंको निकै चर्चा छ, एउटा सोलो एल्बम गरौँ’ भन्नुभयो । उहाँ निकै चर्चित गायक भएकाले मलाई जोक्स गर्नुभएजस्तो लाग्यो । तर, पटकपटक भनेपछि विश्वास भयो । अनि यो गीत गरेँ, उहाँले गाउनुभयो । निकै चर्चा पनि पायो । कार्की दाइले मलाई हौस्याउनुभयो– ‘अब, तिमी ब्यान्डमा मात्र सीमित हुनुभएन, तिम्रो संगीत राम्रो छ, देशका सबै गायकगायिकाले तिम्रो संगीतमा गाउन पाउनुपर्छ ।’ दिनेश अधिकारीले लेख्नुभएको यो गीतमा संगीत भरेपछि नेपाली सुगम संगीतमा मेरो पनि छुट्टै पहिचान बन्यो ।
काँडा हो माया : अहिलेसम्म संगीत गरेकामध्ये मलाई सबैभन्दा मन पर्ने गीत हो यो । त्यति बेला जगदीश समाल भर्खर गायनमा लागेका थिए । गाला निचरे दूध आउलाझैँ देखिने उनी आएर भने– ‘दाइ म तपाईंको फ्यान हुँ, प्रतिबिम्ब एल्बम मलाई निकै मन पर्छ । मलाई पनि एउटा गीत दिनुपर्यो ।’ मैले धेरै वर्षअगाडि लेखेको यो गीत कम्पोज गरेर पनि सुहाउँदो गायक नपाएकाले त्यत्तिकै राखेको थिएँ । उनैलाई दिएँ, निकै राम्रोसँग गाए । यति चर्चा कमायो कि अहिले पनि यही गीत सुनेका भरमा राजु सिंहबाट नै गीत कम्पोज गराउनुपर्छ भन्दै आउँछन् थुप्रै जना । यो गीतले मेरा लागि पनि एउटा गतिलो भाग्य कोरिदिएछ । यसको शब्दले नै सबैलाई तान्ने गरेको छ । प्रयुक्त नोटहरूका कारण नेपालका राम्रा गायकहरूले पनि यो गीतलाई प्यारो मान्ने गरेका छन् ।
मेरो साथ बिताएका : नवीन भट्टराईसँग मेरो भेट उनी गायन क्षेत्रमा आउनुअघि पनि हुन्थ्यो । उनी मेरा फ्यान थिए । उनले स्टिल ह्विल्स एल्बमबाट अवार्ड जितेपछि हाम्रो सम्बन्ध थप झाँगियो । उनको पहिलो गित ‘जिन्दगी खोलाजस्तै’ मैले एरेन्ज गरेको थिएँ । उनी यो गीत लिएर गोपाल योञ्जनको स्टुडियोमा जाँदा उहाँले सोध्नुभएछ–‘यस्तो कडर््स राखेर कसले एरेन्ज गरेको ?’ नवीनले मेरो नाम लिएछन् । योन्जनले भन्नुभएछ– ‘यो गीत धेरै राम्रो छ, राजुले राम्रो संगीत गर्छ ।’ यसै गीतका कारण योन्जनले मलाई निकै माया गर्नुहुन्थ्यो । नवीनसँग गरेको ‘मेरो साथ’ भन्ने गीतचाहिँ भूपेन्द्र नीराजनले लेख्नुभएको हो । आपैँmले संगीत गरेर आपैँm एरेन्जमा बसेर नोटहरूबारे जानकारी दिएँ । गीत यति चल्यो कि बाहिर सुनियो– प्रेमीहरू यही गीत गाएर प्रेमप्रस्ताव गर्न थाले रे † हामी दुबैको करियरमा विशेष महत्त्व छ यो गीतको ।
कति राम्रो अलिअलि ढल्किएको छाया : यो मभन्दा पनि जेठो गीत हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको । ०४ सालमा उहाँले किन्नरकिन्नरी भन्ने कवितासंग्रहमा यो गीत कोर्नुभएको रहेछ । एक पटक भरत बाँस्तोला र म कविवरको घर गएका थियौँ । त्यही मौका पारेर उहाँसँग गीत मागेँ । उहाँले ‘तिमी एकपल्ट किन्नरकिन्नरी हेरेर रोज, भएन भने म लेख्दिन्छु’ भन्नुभयो । उहाँकै सामुन्ने बसेर हेरेँ, मेरो आँखा यही गीतमा गयो । यो गीत आफैँमा एउटा लय थियो । सिम्फोनिक स्टुडियोमा अर्चना बाँस्तोलाको स्वरमा रेकर्डिङ गराएँ । यसको संगीतबाट मैले सम्पूर्ण नेपाल देखाउने काम गरेको छु । मेचीदेखि महाकालीसम्मले मनपराउने समावेशी गीत बनेको छ । यसको संगीतमार्फत नेपालको भौगोलिक चित्रण भएको चर्चा पनि गरेका छन् कसैकसैले । मैले कविवरबाट अमूल्य प्रसादका रूपमा पाएको यो गीतले थुप्रै अवार्ड पनि पायो । यसपछि म उहाँको पनि प्यारो बनेँ ।
वचन तोडे कसम नि तोडे : ०५६/५७ सालतिरको गीत हो यो । गायक रामकृष्ण ढकालका तिमी जुन, तिम्रो रहरलगायत गीतमा संगीत गरिसकेको थिएँ । यसपालि रामकृष्ण मुम्बई गएर रेकर्ड गराउने, एउटा गीतमा संगीत भर्न पर्यो भनिरहेका थिए । शुक्रबार मुम्बई लाग्नुपर्ने, उनले मंगलबार मात्रै भने । भ्याउन सकिएला जस्तै लागेन, म टारिरहेको थिएँ । नेत्र कोइरालाले राजुले नै संगीत गर्नुपर्छ भनेछन् । रामकृष्णले फोन गरे– ‘तपाईंको फ्यानले तपाईंकै संगीत चाहिन्छ भनेका छन्, संगीत भर्न नभ्याए पनि एकचोटि आउन त आउनुस् ।’ साह्रै ढिपी गरेपछि दरबार होटलमा भेट्न गएँ । म गीत गर्नेभन्दा पनि उनीहरूलाई कन्भिन्स गर्ने मुडमा थिएँ । रामकृष्णले मुड आउँछ कि एकफेरि हेर्नुस् न भन्दै गीत देखाए । शब्दले यसरी छोयो कि एकाएक म त्यो गीतमा संगीत भर्ने मुडमा पुगेँ । गीत लिएर फटाफट घर गर गएर कम्पोजमा बसेँ । आधा घन्टामै कम्पोज सकियो, रामकृष्णलाई फोनबाट सुनाएँ । यसलाई फणीन्द्रले एरेन्ज गर्नुभयो । यसै गीतबाट मैले सिर्जना गर्न समयको बन्देज हुँदो रहेनछ भन्ने बुभेँm ।
अचानो भो मेरो छाती : मलाई एकदमै मनपरेको गीत हो यो । सेमिक्लासिकल यो गीतलाई गायक दीप श्रेष्ठले एल्बम यात्रा–१ मा समावेश गर्नुभएको छ । एक्सिडेन्टल नोट प्रयोग गरिएको यसमा सम्पूर्ण मानिसको पीडा छ । वरिष्ठ गायक दीप श्रेष्ठले आफ्नो एल्बममा काम गर्न आग्रह गर्दा दुई–चार दिन मलाई सपना हो कि भैँm लागेको थियो । मैले निकै मेहनत गरेको छु, एल्बम सफल पनि भयो । यो गीतमा प्रयोग भएको उतारचढावबाट संगीतका विद्यार्थीले थुप्रै कुरा सिक्न सक्छन् । आलोक नेम्वाङद्वारा निर्मित म्युजिक भिडियोले यसलाई थप उचाइ दिलायो । यो गीत प्रयोगमा आइरहेका सांगीतिक फर्मुलाभन्दा बाहिर छ ।
कतै नपाई : यो मेरो मात्र होइन, गायिका विमला राई अनि गीतकार प्रकाशजंग कार्कीको पनि मन पर्ने गीत हो । विमला दिदीले फोन गर्नुभयो– ‘मैले तिम्रो निकै प्रशंसा सुनेको छु, म पनि तिम्रो संगीतमा एउटा गीत गाउन पर्यो ।’ अग्रज पुस्ताकी गायिका उहाँको आफ्नै किसिमको प्रसिद्धि थियो । उहाँका लागि गीत कम्पोज गर्न हार्मोनियम समाएर बस्नेबित्तिकै मलाई एक किसिमको डरले छुन्थ्यो, उहाँको स्थापित छविलाई न्याय गर्ने गीत बनाउन सक्छु कि सक्दिनँ भनेर । तर, गीत राम्रो भयो । उहाँ र मेरो करियरमै यसले नयाँ उचाइ दिलायो । फणीन्द्रले एरेन्ज गर्नुभएको यो गीतमा संगीतका असाधारण नोट प्रयोग गरिएका छन् । नयाँ र पुराना पुस्ताबीचको जेनेरेसन ग्यापमा यो गीतले पुलको काम गरेको छ ।
कुन साइनो : शिव परियारले गाएको यो गीत भर्खरभर्खरैको हो तर मेरो फेबरेटमध्ये पर्छ । यसमा उठाएको प्याटर्न फेरि गर्न सक्छुजस्तो लाग्दैन । लाग्छ– यो गीतमा संगीत भर्ने बेलामा संगीतदेवता मसँगै बसेर नोट सिकाउँदै थिए । त्यसैले यसलाई गाउनु फलामको चिउरा चपाउनुसरह बनेको थियो । हुन पनि शिवलाई यो गीत कम्प्लिट गर्न सात घन्टाभन्दा बढी लाग्यो । शिव र मेरो करियरमै विशेष महत्त्व सिर्जना गरेको यो गीत धेरैले मन पराए पनि । यसैका कारण मैले धेरैको स्याबासी अनि अग्रजको आशीर्वाद पाएँ । राजु भर्सटाइल संगीतकार हो, उसले हरेक प्रकारका गीतलाई न्याय गर्छ भनेर मेरो परिचय फैलियो । महाराजाले एरेन्ज गरेको यो गीत मलाई सधैँ प्यारो छ ।
झुमीझुमी : यो गीत दीपक वज्राचार्य दाइले गाउनुभएको हो । आपैँm पनि राम्रो कम्पोजर रहनुभएका उहाँका गीत ल्याटिनो टाइपमा हुन्छन् । झुमीझुमी एल्बममा राखिएको यो गीतमा स्याम्पलिङ स्टाइलका गिटार पार्ट प्रयोग भएका छन् । एरेन्ज क्रिसजीले गर्नुभएको । यो अहिले सम्मकै उत्कृष्ट किसिमले गिटार खेलाइएको नेपाली गीतजस्तो लाग्छ मलाई । गिटार कोर्स सिक्न चाहनेका लागि यो गीत आफैँमा एउटा पुस्तिकाजस्तो छ । मेक्सिकनबार टाइपको यो गीतमा मेलोडी एकै नासको छ, अंग्रेजी फ्लेबर छ भन्दा पनि हुन्छ । स्थायी र अन्तरा सबै हुनुपर्छ भन्नेहरूलाई गतिलो जबाफ हो अरुण खड्काले लेखेको यो गीत ।
तिमी नभए : गायक सुगम पोखरेलको स्वर र संगीतको म पनि फ्यान हुँ । यो गीत रेकर्डिङ गर्ने बेलामा मैले उनलाई एक बजे स्टुडियो बोलाएको, एघारै बजे आइपुगेछन् । मेरो कम्पोजमा गाउने भनेपछि उनी उत्साहित भएका रहेछन् । मिहिनेत गर्नुपर्छ भन्ने लागेर दुई घन्टा चाँडो आएछन्, पछि थाहा पाएँ । भन्नचाहिँ उनले भने– ‘तपाईंले १ बजे भन्नुभएको रहेछ, मैले एघार बजे सुनेछु ।’ यसले राम्रो चर्चा कमायो, सीआरबिटी पनि प्रशस्तै बटुल्यो । यसमा म्युजिकल इन्स्ट्रुमेन्ट पनि खासै केही छैनन् । शाश्वत पराजुलीले लेखेका शब्दअनुसारकै कम्पोज गरेको छु । कतिले यो गीत सुगमले नै संगीत भरेको ठान्दा रहेछन्, मेरो संगीत भन्ने थाहा पाएपछि छक्क पर्छन् ।
सम्झिहेर : योगेन्द्रमणिको शब्दमा दीपेशकिशोर भट्टरायले गाएका हुन् । यसअघिका गीतबाट दीपेश खासै सन्तुष्ट हुन सकिरहेका थिएनन् । यो गीत मानिसहरूले निकै मन पराएपछि उनी आफ्नो सांगीतिक करियरमा नयाँ आयाम थपिदिएको भन्दै मलाई बधाई दिन आए । यो गीत चलेपछि मलाई धेरैले भने– गायकलाई चेन्ज गराउन वा राम्रो गीत सिर्जना गराइदिन संगीतकारको पनि हात हुँदो रहेछ ।
कता हिँडेको कसलाई खोजेको : रामकृष्ण बर्देवाको शब्दमा आभा मुकारुङले यो गीत गाइन् । मैले सबैभन्दा थोरै शब्दमा कम्पोज गरेको यो गीत विदेशमा निकै चर्चित छ । स्टेजमा यो गीत घन्किँदा स्वर मिलाउनेको ताँती हुन्छ । रियालिटी शोतिर नयाँ भाइबहिनीले गाउँदा अनि पुरानाले राम्रो भनेर प्रशंसा गर्दा निकै गर्वानुभूति हुन्छ । शब्द लामोछोटो भन्दा पनि गीतमा आफ्नोपन हुने हो भने सबैले मन पराउँदा रहेछन् भन्ने मैले यसैबाट बुभेँm । यो गीतपछि म नयाँ गायकगायिकाको रोजाइमा परी नै रहँ ।
प्रस्तुति : कुबेर गिरी
प्रतिक्रिया