‘सो’ छैन, सिम्पल मात्र

काठमाडौं, १४ कात्तिक । युवापुस्तालाई लक्षित गरी टिनएजर युवायुवतीबीचको मायाप्रेमलाई पर्दामा उतार्ने प्रतिस्पर्धा छ, यतिखेर चलचित्र क्षेत्रमा । यिनैमध्येको चलचित्र हो, सो सिम्पल । निर्देशनमा अलग पहिचान बनाएका शिव रेग्मीको निर्देशन, दुई दशकदेखि चलचित्र क्षेत्रमा खट्दै आएका केशव भट्टराईको निर्माण अनि आफूलाई थोरै तर राम्रो चलचित्र लेख्ने दाबी गर्दै आएका प्रदीप भारद्वाजको स्क्रिप्टमा बनेको ‘सो सिम्पल’ बाट दर्शकले ‘हाइ एक्स्पेक्टेसन’ गर्नु स्वाभाविकै हो । तर, चलचित्रले दर्शकको यो प्यासन मेट्न सकेको छैन । सामान्य किसिमले थुमथुम्याउने काम मात्र गरेको छ ।

शीर्ष भूमिकामा देखिएका प्रमोद भारद्वाज (अभि) र भावना रेग्मी (ऋतु) कै वरिपरि अल्झिएको छ पूरै कथा । कलेजको पहिलो दिनदेखि नै ऋतुलाई सहयोग गरेर अभिले उसको मन जित्छ । साइकलमा आवतजावत गर्ने अभि जहिल्यै टाइममा कलेज आइपुग्छ । तडकभडक नगर्ने सिम्पल प्रकृतिकी ऋतु जहिल्यै सार्वजनिक यातायात प्रयोग गर्छे, त्यसैले कलेजमा ढिलो हुन्छे । सोही कारण उसले टिचरदेखि प्रिन्सिपलसम्मको गाली खानुपर्छ । अभिले ऋतुलाई आफ्नै साइकलमा राखेर कलेज ल्याउने–लैजाने गर्न थाल्छ । सँगै पढ्ने फटाहा प्रवृत्तिका चार साथीलाई उनीहरूको यो मित्रता पच्दैन । प्रिन्सिपलकोमा पुगेर नानाथरी कुरा लगाइदिन्छन् । ऋतु र अभिलाई एउटै साइकलमा सँगै आउन रोक लाग्छ । अभिले ऋतुलाई एउटा साइकल गिफ्ट दिन्छ । त्यसका लागि उसले तरकारीको पैसा कटौती गर्छ, बच्चालाई ट्युसन पढाउँछ । बुबाको पैसा चोर्नसमेत पछि पर्दैन । उनीहरूको मित्रता झाँगिँदै जान्छ ।
भ्यालेन्टाइन डेको अवसर पारेर अभिले ऋतुलाई प्रेमप्रस्ताव राख्छ । तर ऋतुले स्वीकार्दिन । अभि त्यसको कारण खोज्न थाल्छ । समग्रमा यही हो चलचित्रको कथा । सम्भ्रान्त परिवारकी छोरी भए पनि नायिकालाई सामान्य व्यवहारमा प्रस्तुत गरेर चलचित्रको नाम पुष्टि गर्ने प्रयास गरिएको छ ।
कथाले सुरुदेखि अन्त्यसम्म सुमधुर गति समात्न सकेको छैन । मध्यान्तरअघिको प्रस्तुतिले दर्शक बाँधे पनि दोस्रो हाफमा चलचित्रलाई टुंग्याउने काम मात्र भएको छ । नायिका बनेकी भावनाको अभिनयमा शून्यता छ । निर्देशककी छोरी भएकाले अवसर पाएको आरोपलाई गलत साबित गर्ने अभिनय देखाउन सकेकी छैनन् । अन्य चलचित्रजस्तै यस चलचित्रमा पनि निर्देशक रेग्मी अन्त्यमा पुगेर चिप्लिएका छन्, मध्यान्तरअघिको गतिलाई पछिल्लो भागले सपोर्ट गर्न सकेको देखिँदैन । पत्रिकाको कार्टुनिस्टको भूमिकामा देखिएका केशव भट्टराईको अभिनय राम्रो भए छ तर उनलाई कार्टुनिस्टकै रूपमा प्रस्तुत गर्नुको औचित्य पुष्टि गरिएको छैन । टिचरको भूमिकामा देखिएका सुशील पोखरेलको अभिनय उत्कृष्ट छ । बदमास बालिकाका रूपमा प्रस्तुत गरिएका दुई बालकलाकारले राम्रो क्षमता देखाए पनि स्क्रिप्ट राइटरले उनीहरूको उमेर अनि चरित्रलाई सुहाउने डाइलग दिन सकेका छैनन् ।
राजवल्लभ कोइराला र श्वेता भट्टराईको चलचित्र भनेर जाने दर्शक भने निराश हुनेछन् । आर्मीको भूमिकामा राखिएका राज र नर्सको भूमिकाकी श्वेतालाई चलचित्रका करिब दुइटा सिनमा मात्र देखाइएको छ । यी दुई सिनमार्फत ऋतुलाई अभिको प्रेम बुझाउन मात्र उनीहरूलाई खटाइएको छ ।
आफूलाई महँगो स्क्रिप्ट राइटर दाबी गर्दै आएका प्रदीपले यो चलचित्रमार्फत उनलाई बढी पैसा तिर्नुपर्ने कुनै आधार देखाउन सकेका छैनन् । स्क्रिप्ट टाकनटुकन जोडजाड पारेजस्तो लाग्छ । ताराप्रकाश लिम्बूको संगीत पनि कथा अनि परिस्थितिसँग मेल खाएजस्तो लाग्दैन । कति ठाउँमा उनको पुरानो संगीत सुनेजस्तो लाग्छ । चलचित्रमा नृत्य छैन भन्दा पनि हुन्छ । हिमाल केसीको द्वन्द्वनिर्देशन सामान्य छ । अन्य साधारण चलचित्रजस्तै यसमा पनि अन्त्यमा उही शैलीले प्रेमजोडीको मिलन गराएर कथा टुंग्याइएको छ । चलचित्रको अन्त्यमा एकैचोटि कमलकृष्णलाई मुख्य भिलेनका रूपमा प्रस्तुत गर्नुको तालमेल मिलाउन सकिएको देखिँदैन । चलचित्र सकिनुअघि द्वन्द्वदृश्य राख्नैपर्ने पुरानो पट्यारलाग्दो फर्मुला प्रयोगका लागि मात्रै भिलेनको प्रयोग भएजस्तो ।
समग्रमा हलमा बसेर समय कटाउन सकिने खालको भए पनि सो सिम्पलले नयाँ कुरा ‘सो’ गर्न सकेको छैन । चलचित्र पनि नामजस्तै बनेको छ, सिम्पल ।

प्रतिक्रिया