स्वदेशी उत्पादनको प्रयोगमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले बढ्दो व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिएको छ । मेक इन नेपाल ‘स्वदेशी’ अभियान संचालन गरेको परिसंघले रोजगारी बढाउन, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि पनि स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने जनाएको हो ।

मेक इन नेपाल ‘स्वदेशी’ अभियानको एप सार्वजनिक एवं अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णु अग्रवालले प्रतिवर्ष एक लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने गरी यो अभियान संचालन गरिएको बताए । उनले यो अभियान उत्पादन र उपभोग बढाउनेतर्फ केन्द्रित रहेको बताए । उनले स्वदेशी उत्पादन र स्वदेशी सामानप्रति उपभोक्ताको आकर्षण बढाउनुपर्ने पनि बताए । अध्यक्ष अग्रवालले मेक इन नेपाल अभियानले अर्थतन्त्र विस्तारमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

परिसंघका उपाध्यक्ष हेमराज ढकालले उच्च व्यापार घाटालाई केही मात्रामा भएपनि घटाउनुपर्छ भन्ने उद्देश्यसहित यो अभियान संचालन गरिएको बताए । परिसंघका हितेश गोल्छाले ४० वटा उत्पादनमा स्वदेशी लोगो प्रयोग सुरु गरेको जानकारी गराए । उनले स्वदेशमा उत्पादित वस्तुहरुमा मात्रै स्वदेशी लोगो प्रयोग गर्न दिइने बताए ।

परिसंघले स्वदेशी वस्तु उत्पादन गर्ने कम्पनीले आवेदन दिए अनुसार मापदण्ड पूरा गरेकाहरूलाई मात्रै स्वदेशी लोगो राख्न अनुमति दिएको जनाएको छ । यस्तै वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्नसक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया