एमालेमा अब जनवाद सकिएर ओलीको डनवाद सुरूभयाे : गगन थापा

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका हुन् । उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए।

उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरू भएको आरोप लगाए । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरूष हुन सेन रहेको बताए।

हुन सेनविरूद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए । ‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यहाँ बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो। ओलीलाई सर्वाधिकार दिनुहुन्न भन्दा भीम रावलले झन्डै पिटाइ खानुभयो। अहिले प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ,’ थापाले भने, ‘विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो। त्यहाँ अब केपी ओलीको डनवादमात्रै बाँकी छ।’

प्रतिक्रिया