राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विश्वभर मनाइदैं

इलाम । किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न मुलुकहरुमा विविध कार्यक्रम आयोजना गरी विहीबार मनाइदैं छ । यसरी हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस वर्ष १३७ औं जन्मजयन्ती समारोह केन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ साथै सुनसरीको भरौलमा किरात माङहिम समुदघाटन तथा फाल्गुनन्दका सालिक अनावरण हुँदैछ । सो कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा साँवा पवित्रहाङमा लिङदेनको उपस्थिती हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए ।

त्यसैगरी किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा फाल्गुनन्दको जन्मजयन्ती कार्यक्रम मनाउने तयारी गरिएको हो । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेका छन् ।

नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरुमा जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ । त्यस्तै भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकहरुमा फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ ।

को हुन् फाल्गुनन्द लिङदेन ?
तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सतमार्ग दर्शनमा डोर्याउन किरात धर्म दर्शनका पुनःउत्थापक, समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । किरात धर्मावलम्बीहरुले फाल्गुनन्दलाई किरात धर्म दर्शन पुनः उत्थापक, समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् ।

फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि।स।१९८८ साल वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गरेका थिए । समाज सुधार अभियानमा आजीवन लागेका फाल्गुनन्दलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम गरेको थियो । तर, उनको निधन भएको ६१ वर्षपछि राज्यले पनि फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि फाल्गुनन्दलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गरेकाले नेपालको पूर्वी लिम्बुवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नम्बर २ साविक इभाङ गाविस वडा नम्बर ५, चुक्चीनाम्बा गाउँमा बाबु जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि.स.१९४२ साल कात्तिक २५ गते आइतबार साईला छोराको रुपमा फाल्गुनन्दको जन्म भएको थियो । फाल्गुनन्दको निधन वि.स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा भएको थियो ।

प्रतिक्रिया