कपिलवस्तु । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा परको छ । गत असोज १८ गतेबाट सुरु भएको झाडाबान्ता अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडाबान्ता शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १ हजार ३ सय ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए ।
अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचारत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म जिल्लामा ६ जनाको झाडाबान्ताकै कारण मृत्यु भएको अस्पताललले जनाएको छ । ‘केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८÷१० जना बिरामी आउने गरेका छन्’, शिवराज अस्पतालका डा. मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ, ।’ गाउँमा बान्ता र पखालाका बिरामी अहिले पनि रहेका छन् । शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखापरे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चूडामणि भट्टराईले बताए ।
यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । साढे दुई लाख खोप विश्व स्वास्थ्य संगठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए । पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।
प्रतिक्रिया