बजेट अभावमा रोकियो दुर्लभ सालकको अनुसन्धान

धुलिखेल । बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालकको अनुसन्धान रोकिएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको वासस्थान अनुसन्धान तथा संरक्षण अभियान यो वर्ष पनि रोकिएको हो ।

संरक्षण अभियानन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले दुई वर्षअघि सालकको वासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश सरकारले ०७५/७६ मा दुई लाख तथा अघिल्लो आवमा पाँच लाख पठाएको कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनले भने, ‘प्रदेश सरकारबाट दुई वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ’, पोखरेलले भने ।

पोखरेलका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान÷संरक्षण अत्यावश्यक देखिन्छ । अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए ।

‘हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन’, उनले भने । आउने वर्षका लागि योजना बनाएर मन्त्रालयमा पेस गर्नेबारे छलफल भएको उनले बताए । गत असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालक भेटिएको थियो । राति ९ बजे स्थानीय एक घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको थियो ।

पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’ नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृंखलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक देखिएको छ । ‘यो मानिसका लागि उपयुक्त जनावर हो, यसले बालीका कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन’, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ ।

बल्थलीस्थित समुदायमा आधारित चोरी, सिकारी नियन्त्रण एकाइका अध्यक्ष विष्णुप्रसाद हुमागाईले स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा जमिनमा ५ सय ४२ वटा प्वाल भेटिएकामध्ये पुरानो ३ सय २३ र नयाँ २ सय १९ प्वाल रहेको जानकारी दिए । उनले भने, ‘नयाँ प्वालको संख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा जाँदैछ भन्ने बुझिन्छ, हामीले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएका छौँ ।’ उनका अनुसार एकाइले गत वर्ष स्थानीय २ सय ५० स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको थियो भने एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए ।

अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्यांक नभए पनि कालो सालकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुंखर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको वासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ ।

पाँच वर्षअघि वन विभागको स्वीकृतिमा नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् भक्तपुरले काभ्रेपलाञ्चोकका सामुदायिक वनमा सालकको अनुसन्धान गरेको थियो । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन् ।

विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइने पोखरेलले जानकारी दिए । उनका अनुसार यसको प्राकृतिक प्रजनन् पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहेको छ । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुने गरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । – रासस

प्रतिक्रिया