११३औं देवकोटा जयन्तीमा विशेष कविता वाचन

काठमाडौं । साहित्यिक पत्रकार संघ र कमलपोखरी छठ पूजा समाजको संयुक्त आयोजनामा आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती देवकोटाको योगदानको चर्चा एवम् कविगोष्ठी गरी मनाइयो । कार्यक्रममा वक्ताहरूले देवकोटाले नेपाली साहित्यका विभिन्न विधामा गरेको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पारे । कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविस्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउनसक्ने ३ कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गरे ।

कार्यक्रममा कवि एवम् समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी पिएचडी गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएको साहित्यकार सम्भवत: देवकोटा नै भएको बताए । अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारहरूले गौरवबोध गर्ने गरेको धारणा राखे । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि संघले यस्ता कार्यक्रमहरू गर्ने जानकारी दिए ।

अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा डेढ दर्जन बढी कविताहरु वाचन गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि घनश्याम राजकर्णिकार, विशेष अतिथि वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, अनेसासका केन्द्रीय उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, साहित्यिक पत्रकार संघ कार्यसमिति सदस्य नियात्राकारदामोदर पुडासैनी, अध्यक्ष राधेश्याम लेकाली, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिलले कार्यक्रममा मन्तव्यसहित आआफ्नो कविता वाचन गरेका थिए ।

११३औं देवकोटा जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा कविहरु गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशी थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारु तिमिल्सिना, एलिशा ढुंगानालगायतले पनि आआफ्नो कविताहरु वाचन गरेका थिए ।

कार्यक्रममा महाकवि देवकोटाका कविताहरु कवि मन्जिला अनिल र कमला रिसालले गाएका थिए । कार्यक्रममा कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले धन्यवाद ज्ञापन गरे । सो कार्यक्रममा वरिष्ठ ईन्जिनियर शंकर रिमाल, प्रकाश सिलवाल, शान्ति गिरि, रन्जना निरौला, यशोदा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया