प्रतिष्ठानले मनायो महाकवि जन्मजयन्ती

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’ को आयोजना गरेको छ । कार्यक्रम सुरु हुनुअघि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गंगाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी रिमाल लगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकविप्रति श्रद्धासमुन अर्पण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा भएको उल्लेख गरे । उनले नेपाली साहित्यलाई विश्वमा परिचित गराउन महाकवि देवकोटाको अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए । कुलपति उप्रेतीले महाकवि देवकोटा संग्रहालय पुनःनिर्माणको कार्य अगाडि बढिरहेको र अर्को सालको भानु जयन्तीमा उक्त संग्र्रहालयको उद्घाटन गर्ने योजना रहेको जानकारी दिए ।

उपकुलपति डा. जगमान गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटा विशिष्ट साधक भएको विचार व्यक्त गरे । उनले महाविद्वान् राहुल सांस्कृतायनले समेत महाकवि देवकोटाको उच्च प्रशंसा गरेको प्रसंग जोड्दै महाकवि देवकोटाको योगदानलाई चीरस्थायी राख्न सरोकारवाला सबै गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको विशद् चर्चा गर्दै उनी नेपाली साहित्यका विशिष्ट र शिखर प्रतिभा भएको बताए । कार्यक्रमका सभाध्यक्षसमेत रहेका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कोभिड–१९ को त्रास अझै रहिरहेकाले थोरै तर गुणात्मक सहभागितामा कार्यक्रम आयोजना गर्नुपरेको बताए । उनले महाकवि देवकोटाको व्यक्ति चर्चा र उनका प्रतिनिधिमूलक रचनावाचनले कार्यक्रमलाई सार्थक तुल्याएको विचार व्यक्त गरे ।

प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले देवकोटाका प्रवृत्ति झल्किने रचनाहरूका अंश वाचन गरेका थिए । यसैगरी देवकोटाकी पनातिनी तथा कवि मञ्जिला अनिलले महाकवि देवकोटाको कविता ‘यात्री’ र कवि सविता बरालले ‘शाकुन्तल’ महाकाव्यभित्रका केही अंश वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ वाङ्मय अन्वेषक प्रा. मोहनप्रसाद खनालले नेपालले चिन्नुअघि नै महाकवि देवकोटालाई विश्वले चिनिसकेको बताए । उनले सन् १९८८ मा अमेरिका गएका बेला त्यहाँको एउटा गाउँमा रहेको एक अमेरिकी नागरिकको घरमा महाकवि देवकोटाका पुस्तकहरू र अमेरिकी खोज–अन्वेषकलाई देवकोटाले दिएको लामो अन्तर्वार्ताको अडियो रेकर्ड फेला पारेर ल्याएको सुनाउ । उनले भने, ‘त्यो सामग्री संरक्षणको आवश्यक व्यवस्था भएमा म त्यो सामग्री प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्न तयार छु ।’

कार्यक्रममा महाकवि पुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले सरकारको निर्णयअनुसार महाकवि देवकोटाको मैतीदेवीस्थित घर कविकुञ्जलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालयका रूपमा पुनःनिर्माण गरिरहेकामा प्रशन्नता व्यक्त गरे । कार्यक्रम प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले सञ्चालन गरेका थिए । सो अवसरमा कुलपति उप्रेतीले प्रज्ञा परिसरमा रहेको प्रज्ञा चमेना गृह छेउमा नवनिर्मित पुस्तक विक्री कक्षको उद्घाटन गरे ।

प्रतिक्रिया