दाहालले बैठकपिच्छे फरक कुरा ल्याउँछन

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका बैठकपिच्छे ल्याउने फरक/फरक अभिव्यक्तिका कारण सहमति जुटाउन अप्ठेरो परेको गुनासो गरेका छन् ।
काठमाडौंको दक्षिणकालीमा आज गणेशमान सिंहको स्मृतिमा आयोजित कार्यक्रममा उनले एमाओवादीको छलछामको राजनीति जारी रहे मुलुकले लामो समय निकास नपाउने बताए । ‘एमाओवादी अध्यक्ष पष्पकमल दाहालजी बैठकैपिच्छे कुरा बदल्नु हुँन्छ,’ उनले भने, ‘आफ्नो अभिव्यक्तिमा अडिग नहुने हो भने कसरी सहमति आउँछ ?’
उनले एमाओवादीलाई इमान्दार भएर सहमतिको राजनीति गर्न सुझाव दिएका छन् । इमान्दारको राजनीति भएमा कांग्रेस जस्तोसुकै सहमति र निकासका लागि तयार रहेको सभापति कोइरालाको भनाई थियो ।
‘एमाओवादीले बार्ताका क्रममा पटक/पटक झुक्काउने गर्छ,’ उनले भने, ‘सधै विपक्षी दलहरुसँग छलछामको राजनीति गरेर एमाओवादी सत्ताकब्जा गर्न चाहन्छ ।’ एमाओवादीको सत्ताकब्जा गर्ने खराब नियतलाई कांग्रेसले कदापि पुरा हुन नदिने सभापति कोइरालाको भनाई छ ।
दलहरुका बीच मुलुकलाई दशैं अगावै निकास दिने झिनो प्रयास भईरहेका समयमा कांग्रेस सभापति कोइरालाले एमाओवादीप्रति चरम असन्तुष्टि जनाएका हुन् ।
महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले सरकारको नेतृत्व पाए मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने दाबी गरे । उनले राजनीतिक सहमति गरेर कुनै उपयुक्त विकल्प दिन कांग्रेस सक्षम रहेको बताए ।
‘संविधानसभा रहेका समयमा कांग्रेसले सत्ताको नेतृत्व पाएको भए नयाँ संविधान बनाएरै छाड्ने थियो,’ उनले दाबी गर्दै भने, ‘अझै पनि सरकारको नेतृत्व कांग्रेसले पाएमा मुलुकलाई राष्ट्रिय सहमतिको मार्गमा लैजान्छ ।’
उनले एमाओवादी नेतृत्वको बर्तमान सरकारले मुलुकलाई दुरगति तर्फ लगेको आरोप लगाए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको सहज बहिर्गमन नहुँदा सम्म मुलुकले निकास नपाउने महामन्त्री सिंहको भनाई थियो ।

प्रतिक्रिया